काठमाडौं । ५ भदौमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेयता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र सक्रियता देखाएका छन् । ओली विदेश भएका बेला प्रचण्डले पार्टीभित्रका शक्तिशाली नेताहरुसँग फरक फरक दुई गोप्य भेटघाट गरेका छन् ।
प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गरेको दोस्रो दिन वरिष्ठ नेता माधव नेपालसहित उनी निकटका नेताहरुसँग भेटवार्ता गरेका थिए । नेपाल, नेकपा स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेसँग अढाई घण्टा आफ्नै निवास खुमलटारमा गोप्य भेटघाट गरेका प्रचण्डले लगतै राष्टपति बिद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।
स्थायी कमिटी सदस्य जनार्दन शर्माको सक्रियतामा नेपालसहितका नेताहरुसँग भेट गरेका प्रचण्डले लगतै ओली निकटका प्रभावशाली नेताहरुसँग भेट गरेका छन् । उपाध्यक्ष बामदेव गौतम, कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेल, महासचिव बिष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाडसँग भेट गरेका छन् ।
प्रचण्ड पूर्वएमालेभित्र पूर्णरुपमा खेलिरहेका छन् । भावी अध्यक्ष बन्ने होडमा उनी पूर्वएमालेभित्र खेलिरहेका छन् । प्रचण्डलाई तत्काललाई अध्यक्ष मान्न वरिष्ठ नेता माधव नेपाल पनि तयार नै छन् । तर भावी महाधिबेशनबाट मात्र नेपाल अध्यक्ष बन्न चाहन्छन् ।
प्रचण्ड पछिल्लो समय ओलीको इसारामा चलिरहेका छन् । तर नेपालसँग विस्वास गुमाउने पक्षमा पनि प्रचण्ड छैनन् । ओली र नेपाललाई समदुरीमा राखेर उनी अध्यक्ष र प्रधानमन्त्री पद चड्काउन चाहन्छन् । ओली स्वदेश फर्केपछि प्रचण्डको मुभको भित्री उदेश्य बाहिर पक्कै आउनेछ ।
पछिल्लो समय ओली निकटका नेता गौतम, पोखरेल र पौडेलले पार्टी एकताका बेला भएको चार बुँदे सहमतिलाई पार्टी सचिवालय बैठकबाट अनुमोदन गराउने आश्वासन प्रचण्डलाई दिएका छन् । आलोपालो प्रधानमन्त्रीको गोप्य सहमति ओली फर्केपछि नेकपा सचिवालय बैठकमा पेश हुनेछ । सचिवालय बैठकले आलोपालोको निर्णयलाई सदर गरे अबको एक बर्षमा प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री छोडेपनि ओलीले भने पार्टीको अध्यक्ष पद छोड्ने छैनन् ।