काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपको पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका विषय पहिलेको तुलनामा व्यवस्थित हुँदै गएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले मनसुनजन्य विपद्बाट यस वर्ष करिब १८ लाख एक हजार जनसङ्ख्या एवं चार लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुनसक्ने, ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने र १८ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने आँकलन गरी विभिन्न कलष्टरको परिचालन गर्ने व्यवस्था भएको बताउनुभयो ।
यसअघि सदनमा सांसद डा तोसिमा कार्कीले ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्वतयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तुत प्रस्ताव गर्नुभएको थियो ।
उक्त प्रस्तावलाई सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, विन्दवासिनी कंसकार र निशा डाँगीले समर्थन गर्नुभएको थियो ।
प्रस्तावमाथिको छलफलमा ठाकुरप्रसाद गैरे, दुर्गा राई, अशोककुमार चौधरी, प्रेम सुवाल, रामप्रकाश चौधरी, शिव नेपाली, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मी तिवारी, विनिता कठायत, सीताकुमारी राना, राजेन्द्रकुमार केसी, बिजुला रायमाझी, रामकृष्ण यादव, दामोदर पौडेल वैरागी, प्रतीक्षा तिवारी, नागिना यादव, मनिष झा, दयालबहादुर शाही, सीता मिजार, प्रेमबहादुर महर्जन, जावेदा खातुन जागा, शान्ति विक, सुशीला थिङ समेत गरी २९ जनाले छलफलमा भाग लिनुभएको थियो ।
यसअघि सभामुखले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकामा सभाले स्वीकृत गरेको थियो ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सभाले अनुमोदन गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक साउन १५ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।