२०८३ बैशाख २७ गते, आईतवार १५:४५

दुईजनाको हत्याको अभियोगमा तीन जना पक्राउ

वीरगंज/दुई जना झाँक्रीको हत्यामा संलग्न योजनाकार सहितका तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

गत जेठ २९ गते पर्साको जगरनाथपुर गाउँपालिका-१ स्थित नेपाल-भारत सीमा छेउ ओरिया खोला किनारमा गाडिएको अवस्थामा फेला परेको दुई जना मृत व्यक्ति (झाँक्री)को हत्यामा संलग्न आरोपमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार सार्वजनिक गरेको हो ।

मृतकहरु बारा जिल्ला कलैया उ.म.न.पा.वडा नं.५ पर्साटोल बस्ने वर्ष ५५ को रामएकवाल पण्डित कुम्हार र आदर्शकोतवाल गा.पा.वडा नं.५ बस्ने वर्ष ३४ को सुरेश ठाकुरलाई पारिवारिक रिसईवी तथा जग्गा जमिनको विवादको बिषयलाई लिएर योजनावद्ध तरिकाले हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

जेठ २९ गते जगरनाथपुर गाउपालिका वडा नं.१ बिसुनपूर्वा टोल स्थित ओरिया खोलाको किनारमा नेपाल–भारत सिमानाको दशगजा भन्दा ८० मिटर नेपालको सरहदभित्र (सिमा पिलर ५/४५१ नं.) उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा गाडिएको दुर्घन्धित दुई वटा मृत पुरूषको शव वन्यजन्तुले खोस्रिएको अवस्थामा फेला परेको थियो ।

त्यतिवेला सनाखत समेत नभएको अवस्थामा प्रहरीले घटनाको शुक्ष्म अनुसन्धानको क्रममा प्राविधिक बिशलेषण तथा सुक्ष्म अनुसन्धान गर्दा सनाखत सहित हत्याराहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुई झाक्रीको हत्यामा संलग्न रहेको आरोपमा मुख्य योजनाकार पर्सा जिल्ला जगरनाथपुर गा.पा.वडा नं.५ को ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार र बारा जिल्ला कलैया उमनपा वडा नं. ५ को ३३ वर्षीय लक्ष्मण कुमार प्रजापतिलाई वीरगंज महानगरपालिका वडा नं. १५ भिष्वाबाट असार १८ गते मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसै गरी हत्यामा संलग्न जगरनाथपुर गा.पा.वडा नं.५ धर्मपुरको ४५ वर्षीय महादेव महतो नुनियालाई निज कै गाउबाट बुधवार नै पक्राउ गरिएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।

घटनामा संलग्न योजनाकार सहित पक्राउ परेका तीन जनालाई ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ भने अन्य संलग्न ससंकित व्यक्तिहरुको पहिचान भईसकेको र खोजि कार्य भइरहेको प्रनाउ भारतीले बताउनु भयो ।

घटना विवरण

घटना घटाउने मुख्य योजनाकारले हत्याको पुर्ण योजना बनाई मृतकहरुलाई झारफुक एवम धामी झाक्रीको काम रहेको भन्ने बिश्वासमा पारी बारा जिल्लाबाट दुबै मृतकलाई घटना स्थल सम्म बोलाएको देखिएको प्रहरीले जनाएको छ ।

हत्याको लागि योजनाकारले निश्चित व्यक्तिलाई आठ लाख रुपैया (सुपारी) दिएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ ।

गत जेठ २५ गते शुक्रवार सांझ १८ः१५ वजेको समयमा बारा जिल्लाको कलैयाबाट बस चडी पर्सा जिल्लाको प्रतिमा चोकमा झरी प्रतिमा चोकबाट पावर हाउस चोकमा आई पवार हाउस चोकबाट विन्दवासिनी (केहुनीया) जाने गाडी चडी बिन्दाबासीनी चोकमा झरी उक्त चोकबाट घटनामा संलग्न एक जना मानिसले दुबै झाक्रीलाई मो.सा.मा चढाएर बहुअर्वाभाठाको बाटो हुंदै हुलाकी सडकबाट लखनपुर पुर्‍याई उक्त स्थानबाट नहरको बाटो हुंदै जगरनाथपुर गाउपालिका वडा नं.१ बिसुनपूर्वा ओरिया खोलामा लगेर मृतकहरुको साथमा भएकै गाम्छाले घाटी बांधी दुबै जनाको घाटी थिची हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरीया खोला तटमा शव गाडिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM