काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पहिलो संविधानसभा कार्यकालमा जनमुखी यात्राकै अवधि भएपनि दोस्रो संविधानसभाको कार्यकालमा भने उपलब्धिहरुको बन्ध्याकरण गरिएको टिप्पणी गरेका छन् ।
डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा भट्टराईको निम्ता स्वीकार गरेर अतिथिको रुपमा सम्बोधन गर्दै सांसद साहले दोस्रो संविधासभाको समयमा प्रतिगमन भएको दाबी गरे ।
‘दोस्रो संविधानसभामा उपलब्धिहरुलाई बिगारियो । बिगारेको चीजले त परीणाम पनि बिगारेकै दिन्छ । अहिले व्यवस्था आयो तर अवस्था बदलिएन भन्ने नारा सुनिन्छ । यसमा मलाई अचम्म लागेको छ । मान्छे राम्रो हुने अनि व्यवहार खराब हुन्छ त ? यसरी भन्नु भनेको जनतालाई झुक्याउने काम हो’ साहले भने ।
नेपालमा जनयुद्ध र जनआन्दोलन लोकतन्त्रको लागि गरिएको स्मरण उनले गराए । तर, अहिले व्यवहारमा त्यस्तो नदेखिएको उनको गुनासो छ । ‘अहिले त पार्टीको शासन छ । जनप्रतिनिधिहरु पार्टीको एउटा कारिन्दा भएका छन् । कुनैबेला पञ्चहरु राजाका कारिन्दा थिए । हामी समावेशी समानुपातिक उन्नत लोकतन्त्रको कुरा गरेका छौं । समानुपातिक कसको लागि छ ? भनेर हामीले देखेकै छौं । शासक जातिलाई आरक्षण त नेपालमा पहिलोपटक देख्यौं हामीले । नेपालमा समानुपातिक प्रणालीको बलात्कार गर्ने काम भयो । हुर्मत लिने काम भयो । अहिले ७६१ वटा सरकार छन् । तर, संघीयता भनेको बन्दुक र पैसाले चल्छ । अहिले प्रदेशमा केही दिईएको छैन्’ उनले भने ।
साहले बाबुराम भट्टराईले २०७२ को संविधानबारे दिएको टिप्पणी ‘आधा गिलास भरि, आधा खाली’ नभएको टिप्पणी गरे । उनले भने, ‘यो संविधान डा. साबले भनेजस्तो आधा गिलास भरि, आधा खाली छैन, तरकारीमा यत्ति गोबर हालेपछि त्यो कामै लाग्दैन् । त्यो खारेज गर्नुपर्छ । यसरी निर्धक्क भएर किन भन्न सक्नुहुन्न तपाईं ? डा. बाबुराम भट्टराई भनेको सम्भावना बोकेको नेता हो । यो समाजको आवश्यकत्तलाई पूरा गर्न योग्य व्यक्तित्व हुनुहुन्छ ।’
उनले बाबुरामकै अघि उनकै आलोचना समेत गरे । प्रचण्डसँग मिलेर लगनगाँठो कसेर बाबुरामले अहिलेको संविधान बनाएको र जनतालाई धोका दिएको साहको आरोप छ । संविधानसभाबाट संविधान जारी गर्दा माओवादीभित्रबाट आफूले फरक मत राख्दा कारबाही गरिएको पनि उनले विगतको तितो स्मरण गराए । उनले अहिलेको संविधान बनाउनेहरुले जनआन्दोलन र जनयुद्धप्रति धोका र गद्दारी गरेको भन्दै माफी माग्नुपर्ने माग गरे ।
उनले बाबुरामले पूरानो उपलब्धि (संविधान) लाईपनि स्वामित्व लिन नसकेको र नयाँ कुरा पनि गर्न नसकेको भन्दै दहीचिउरे नेताको संज्ञा दिए । उनले पूरानोलाई पूर्ण रुपमा निषेध गरेरमात्र नयाँ यात्राले सार्थकता पाउने सुझाव दिए । उनले अहिले देश संकटतर्फ अघि बढेको भन्दै यसबाट देशलाई बचाउनको लागि अग्रगामी सोच भएका शक्तिहरु एकताबद्ध हुन जरुरी रहेको आवश्यकत्ता पनि औंल्याए ।