काठमाडौँ–सत्तापक्ष र प्रतिपक्षको दिनभरीको रस्साकस्सीबीच संघीय संसद अन्र्तगत प्रतिनिधिसभा बैठक सुरु भएको छ। आइतबार बिहान ११ बजे बस्ने तय भएको बैठक पटक पटक स्थगित हुँदै साँझ सुरु भएको हो।
सहकारी प्रकरणको छानबिनको कार्यदेश निर्धारण गर्ने सन्दर्भमा सत्तारुढ दल र प्रतिपक्ष दलबीच सहमति हुन नसक्दा बैठक प्रभावित भएको हो। सहकारी सम्बन्धी समस्या छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी अनुसन्धान गर्ने वा नाम राखेर गर्ने भन्नेमा विवाद भएको हो।
आइतबार पाँच घन्टा भन्दा लामो छलफल पछि सत्तापक्ष र प्रतिपक्षबीच रविको नाम नराखी उनि जोडिएको सहकारीको अनुसन्धान गर्ने भनेर सहमति भएपनि कांग्रेस त्यसमा भाँडिएको हो।
शनिबार दलका शीर्ष नेताहरुले सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति बनाउने निर्णय गर्दै समितिको कार्यादेश बनाउन चार सदस्यीय कार्यदल बनाएको थियो। उक्त कार्य दलले आइतबार बिहानैदेखि प्रयास गरे पनि रवि लामिछानेको नाम उल्लेख गर्ने, नगर्ने विषयमा कुरा मिल्न नसकेको हो।