२०८२ आश्विन २६ गते, आईतवार ०१:५४

दीपक मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त

गण्डकी।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन्।

गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनःगठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए।

गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

पुनःगठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको सापकोटाले जानकारी दिए।

मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएकाले नवनियुक्त मन्त्रीको सपथ आजैका लागि तय भएको उनले जानकारी दिए।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहेका थिए।

गण्डकीमा हाल कांग्रेसको मात्र एकल अल्पमतको सरकार छ । मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन सांसद मनाङे, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन खोजिरहेका थिए।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सांसद मनाङे, देवकोटा र राप्रपाका २ सांसदको समर्थन पाउँदा बहुमत पुर्‍याउन सक्छन्।

गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ स्वतन्त्र चुनाव जितेर एकिकृत समाजवादी प्रवेश गरेका मनाङे गरी ६० जना सदस्य छन्। गण्डकीमा सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ।

प्रदेश सभा मध्यावधिमा नजाओस् भनेर सचेत रहेको बताउँदै आएको राप्रपाले पनि आफूलाई साथ दिने विश्वास पाण्डेको रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM