२०८३ जेष्ठ ६ गते, बुधबार ००:१९

आला कार्टको नाममा ग्राहकबाट अतिरिक्त शुल्क उठाउने काम बन्द नगरे कारवाहि गरिनेः सूचना तथा प्रशारण विभाग

काठमाडौं । आला कार्ट मूल्य प्रणालीको नाममा टेलिभिजन सेवाका लागि केही सेवाप्रदायक कम्पनीहरूले ग्राहकबाट थप शुल्क उठाएको पाइएको छ ।

सूचना तथा प्रसारण विभागले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाको सेवा बापत उपभोक्तालाई पर्ने व्ययभार कम गर्ने उद्देश्यले आला कार्ट (ALa Carte) मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

सो मूल्य प्रणाली लागु गर्न आवश्यक पर्ने बुके (Bouquet) र टेलिभिजन च्यानलको छुट्टाछुट्टै मूल्य सहित बुकेको मूल्य प्रस्ताव गर्न सूचना तथा प्रसारण विभागले सबै वितरण संस्थालाई पत्राचार गरिसकेको छ ।

यद्यपि यस्तो मूल्य हाल सम्म प्राप्त नभएकोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट यस्तो बुकेको मूल्य निर्धारण अझै नभएको विभागले बताएको छ ।

“यसै सन्दर्भमा केही वितरक संस्थाले उपभोक्तामा पर्ने शुल्कभार कम गर्ने नेपाल सरकारको उद्देश्य विपरित ईन्टनेट र टेलिभिजन वितरणको शुल्क छुट्याउने नाममा थप शुल्क उठाई रहेको भन्ने गुनासो विभिन्न माध्यमबाट प्राप्त भएकोले यो सुचना जारी गरिएको छ,” सूचनामा उल्लेख छ ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७१ चैत्र २४ गतेको सूचनामा उपभोक्ताले टेलिभिजन प्रसारण वापत मासिक रुपमा अधिकतम ५०० रुपैयाँ भुक्तानी गर्नु पर्दा तथा ईन्टरनेट सेवा वापत दूरसञ्चार ऐन, २०५३ बमोजिमको शुल्क भुक्तानी गर्नु पर्दा समेत हाल तिर्नु परिरहेको संयुक्त शुल्क भन्दा बढी हुन नहुने भनी उल्लेख गरिएको छ ।

यद्यपि सेवा प्रदायकले भने यसरी अतिरिक्त शुल्क उठाउने काम गरिरहेका कारण यस्तो कार्य तत्काल बन्द गर्न विभागले निर्देशन दिएको हो । आला कार्टको नाममा ग्राहकबाट अतिरिक्त शुल्क उठाउने काम बन्द नगरे प्रचलित कानून बमोजिम कारबाही गर्ने विभागले बताएको छ ।

“साथै मन्त्रालयले शुल्क बढाएको भन्ने भ्रममा नपर्न सम्पूर्ण उपभोक्ता समेतलाई विभागको अनुरोध छ,” सूचनामा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM