वीरगंज/वीरगंज महानगरपालिका औंलो (मलेरिया)रोगको उच्च जोखिममा रहेकोले त्यसको निराकरणमा सबै पक्ष सचेत हुनु पर्ने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
सरोकारवालाहरूसँग औंलो किटजन्य रोग नियन्त्रणबारे समन्वय बैठकमा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले सो कुरा बताउनु भएको हो ।
जिल्लाको सदमुकाम समेत रहेको वीरगंज देशकै एक प्रमुख शहरपनि भएकाले यहाँ छिमेकी मुलुक भारत तथा देशका अन्य जिल्लाबाट मानिसको आवागमनपनि यहि हुने भएका कारण पनि वीरगंज महानगरपालिका, जिल्लाका अन्य १३ पालिकाभन्दा जोखिममा रहेको बताए जनस्वास्थ्य अधिकृत ठाकुरले बताउनु भयो ।
महानगर क्षेत्रभित्रका अधिकांश नाला र ढल जाम हुदाँ पानीको बहाव नहुने गरेकोले त्यसले लामखुट्टेका लागि वातावरण थप अनुकुल बनाएकाले औँलोको जोखिम उच्च भएको ठाकुरले बताए ।
वीरगंजका नाला र ढल जाम भएर पानी जम्छ, त्यहाँ लामखुट्टे मन धेरै फस्टाउँछ, लामखुट्टे जहाँ हुन्छ त्यहाँ औलोको जोखिम स्वत: उच्च हुन्छ वीरगंजको अवस्था यहि छ ।
बैठकमा ठाकुरले पर्सामा आर्थिक वर्ष २०७९ / ०८० मा औलोको एक जना मात्र बिरामी भेटिएको जानकारी पनि गराए । आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ६६५ जनाको रगत परिक्षण गर्दा १ जनामा मात्र औंलो रोग भेटिएको र ती व्यक्ति पनि भारतबाट घर फर्किएका रहेको उनले बताए ।
उनका अनुसार त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा भने पर्सामा ३ हजार ६३० जनाको परिक्षण गर्दा औंलोका ३ जना विरामी भेटिएको थियो । आर्थिक वर्ष २०७०/०७८ मा तीन हजार चार सय ६६ जनाको परीक्षण गर्दा एक जना पनि औंलोको रोगी नभेटिएको ठाकुरले बताए ।
नेपाललाई सन् २०२५ सम्म औंलोका रोगीको संख्या शून्यमा झार्ने लक्ष्यका साथ राष्ट्रिय औंलो निवारण कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै ठाकुरले मधेस प्रदेशमा भने चालु आर्थिक वर्षमा भने औंलोका ४४ जना बिरामी मात्र भेटिएको जानकारी गराए ।
मधेस प्रदेशका आठ जिल्ला मध्ये सबैभन्दा बढी सर्लाहीमा २३ जना, धनुषामा १० जना, रौतहट र महोतरीमा ३/३ जना, सिराहामा २ जना तथा पर्सा, बारा र सप्तरीमा १/१ जना औंलोका रोगी भेटिएको ठाकुरले बताए ।
कार्यक्रममा नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले वीरगंज महानगर बढि जोखिममा भएकाले यसलाई मध्यनजर गरि महानगरपालिकाको कार्यालयले नाला, ढल सहित शहरको सरफाईमा विशेष ध्यानदिनु पर्ने सुझाव दिए ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको समन्वय बैठकमा वीरगंज महानगरपालिकाको सरसफाई महाशाखाका प्रमुख सरफुदिन मिया, महानगरपालिकाका स्वास्थ्यकर्मी, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा सामुदायिक प्रहरी सेवा केन्द्रका सुरक्षाकर्मी एवं पत्रकारहरूको सहभागिता रहेको थियो ।