वीरगञ्ज । नारायणी अस्पतालले पर्साको वीरगञ्ज महानगरपालिका–२५ का ५४ वर्षीय राजकुमार पटेलको मृत्यु प्रकरणबारे विस्तृत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उनको मृत्यु विस्तृत हृदयाघात (Extensive Myocardial Infarction) का कारण भएको कार्डियाक अरेस्टबाट भएको निष्कर्ष प्रस्तुत गरेको छ। तर घटनापछि उपचारमा चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै मृतकका आफन्तले गरेको प्रदर्शन, त्यसपछि देशभर चिकित्सकहरूको आन्दोलन र अस्पताल व्यवस्थापनमाथि उठेका प्रश्न भने अझै पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्।
अस्पतालले शुक्रबार राति सार्वजनिक गरेको विज्ञप्तिअनुसार साउन ९ गते बिहान करिब ९ः२४ बजे राजकुमार पटेललाई छातीको तीव्र दुखाइ, बायाँ हातसम्म फैलिएको पीडा, अत्यधिक पसिना आउने तथा सास फेर्न गाह्रो हुने समस्या देखिएपछि आकस्मिक कक्षमा ल्याइएको थियो।
प्रारम्भिक परीक्षणका क्रममा गरिएको ईसीजीमा Anterolateral Wall STEMI देखिएको तथा बिरामीको रक्तचाप ९०/६०, नाडी प्रतिमिनेट ४८ र अक्सिजन स्याचुरेसन ६८ प्रतिशत रहेको अस्पतालले जनाएको छ। उनी पहिलेदेखि नै टाइप–२ मधुमेहका बिरामी रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
अस्पतालका अनुसार बिरामीलाई तत्काल एस्प्रिन, क्लोपिडोग्रेल, एटोरभास्टाटिनसहित आवश्यक औषधि, अक्सिजन तथा आपत्कालीन उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा उनको शरीरमा असामान्य गतिविधि देखिएपछि अवस्था गम्भीर बन्दै गयो र उनी ग्यास्पिङ अवस्थामा पुगे।
त्यसपछि चिकित्सकहरूले तत्काल सीपीआर, एम्बुबाट कृत्रिम श्वासप्रश्वास, इन्ट्युबेसनलगायत पुनर्जीवन प्रक्रिया (Resuscitation) सञ्चालन गरेका थिए। अस्पतालका अनुसार पाँच चक्रसम्म सीपीआर गरिए पनि ईसीजीमा कुनै कार्डियाक गतिविधि नदेखिएको, नाडी र रक्तचाप शून्य भएको तथा अन्ततः बिरामीलाई मृत घोषणा गरिएको थियो।
अस्पतालले मृत्युको कारण “Extensive Myocardial Infarction secondary to Cardiac Arrest” रहेको निष्कर्ष प्रस्तुत गरेको छ। घटनामा आकस्मिक कक्षका चिकित्सक, कार्डियोलोजिस्ट, नर्स तथा अन्य स्वास्थ्यकर्मी उपचारमा संलग्न रहेको विवरण पनि विज्ञप्तिमा समावेश गरिएको छ।
तर यही घटनापछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो। मृतकका आफन्त तथा स्थानीयले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनापछि नेपालभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। आकस्मिकबाहेकका सेवा प्रभावित बनेका थिए भने सरकार र आन्दोलनरत चिकित्सकबीच वार्तापछि सहमति भएपछि स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको थियो।
यद्यपि आन्दोलन अन्त्य भए पनि घटनासँग जोडिएका प्रश्नहरू भने अझै बाँकी रहेको नागरिक समाजको भनाइ छ।
अधिवक्ता सुन्दर कुर्मीले सामाजिक सञ्जालमार्फत सरकार र चिकित्सकबीच भएको सहमतिलाई सकारात्मक भन्दै राजकुमार पटेलको मृत्युको वास्तविक कारण, दोषी भए कारबाही कसलाई हुने, मृतक परिवारले क्षतिपूर्ति पाउने वा नपाउने, पीडित पक्षमाथि हुन सक्ने कानुनी कारबाही, जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको विषय तथा नागरिकको आक्रोशलाई कसरी सम्बोधन गरिने भन्ने प्रश्नहरूको जवाफ आउन बाँकी रहेको टिप्पणी गरेका छन्।
उनले नारायणी अस्पतालमा हुने भनिएका अनियमितता, भोजन तथा औषधि खरिदमा हुने सम्भावित अनियमितता, बारम्बार बिग्रिने स्वास्थ्य उपकरण, सरसफाइको अवस्था, चिकित्सकको सेवाप्रतिको व्यवहार र समग्र व्यवस्थापनमाथि उच्चस्तरीय छानबिन हुनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
अस्पताल व्यवस्थापनसँग परिचित विभिन्न सरोकारवालाले पनि नारायणी अस्पतालमा दक्ष चिकित्सक रहे पनि धेरैजसो निजी अस्पतालसँग आबद्ध हुने, उपचारका लागि आवश्यक उपकरणहरू पटक–पटक बिग्रने, सरसफाइ तथा बिरामीलाई उपलब्ध गराइने भोजनको गुणस्तरबारे पटक–पटक गुनासो आउने गरेको बताउँदै आएका छन्।
उनीहरूका अनुसार यी समस्या उपचारमा खटिने चिकित्सक, नर्स वा कर्मचारीभन्दा पनि अस्पतालको व्यवस्थापकीय संरचनासँग जोडिएका विषय हुन्। व्यवस्थापन समितिमा रहेका राजनीतिक प्रतिनिधि, समाजसेवी तथा प्रशासकीय नेतृत्वको भूमिका प्रभावकारी नहुँदा सेवामा समस्या देखिने गरेको उनीहरूको दाबी छ।
गरीब तथा मध्यमवर्गीय नागरिकका लागि प्रमुख सरकारी उपचार केन्द्रका रूपमा रहेको नारायणी अस्पतालमा यसअघि पनि सेवा व्यवस्थापन, उपकरण, सरसफाइ र प्रशासनिक पक्षबारे पटक–पटक प्रश्न उठ्दै आएका छन्। राजकुमार पटेलको मृत्यु प्रकरणले ती पुराना प्रश्नहरूलाई पुनः सतहमा ल्याएको छ। अब अस्पताल प्रशासनले सार्वजनिक गरेको चिकित्सकीय प्रतिवेदनले मात्रै होइन, निष्पक्ष छानबिन, व्यवस्थापन सुधार र नागरिकको विश्वास पुनःस्थापनाबाट मात्र यो विवादको दीर्घकालीन समाधान खोज्न सकिने सरोकारवालाहरूको धारणा छ।













