२०८३ बैशाख ५ गते, शनिबार १३:१५

जुवातास खेल्दै गरेका पाँच जना पर्सामा पक्राउ

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले जुवातास खेल्दै गरेका पाँच जनालाई पक्राउ गरेको छ। पर्सागढी नगरपालिका-३ स्थित दिलमाया तामाङले सञ्चालन गरेको गोरे कटेज खाजा पसलमा जुवातास खेल भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार राती करिब १०:१० बजेको समयमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उक्त स्थानमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई रंगेहात फेला पारी पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ का ५७ वर्षीय बिरेन्द्र साह, सोही नगरपालिका–४ का ४० वर्षीय सुरेन्द्र चौधरी, वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षीय अरविन्द गोंगो थारु, पर्सागढी–३ का ३२ वर्षीय शिशिर तामाङ र ३८ वर्षीय दिलमाया तामाङ रहेका छन्।

प्रहरीले घटनास्थलबाट तीन सेट तास र नगद रु. १५ हजार ५५५ समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूउपर सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले जुवातास जस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता कार्यमा संलग्न पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM