पर्सा । केही समय निष्क्रियजस्तै देखिएको सीमावर्ती तस्करी फेरि सक्रिय हुन थालेको पाइएको छ। विशेष गरी वीरगंज क्षेत्रका विभिन्न नाकामार्फत कपडाको आवरणमा लागुऔषधसमेत भित्र्याउने गतिविधि तीव्र भएको स्रोतहरूको दाबी छ।
वीरगंज भन्सार क्षेत्र, इनरवा, छपकैया, सिर्सिया लगायत सीमासँग जोडिएका नाकाबाट तस्करहरूले महिला भरिया र पोके तस्कर प्रयोग गरी कपडाका गाँठ, मोटर पार्ट्सलगायतका सामग्री भित्र्याउने गरेको देखिएको छ। ती सामग्रीसँगै प्रतिबन्धित लागुऔषधसमेत मिसाएर भित्र्याउने गरिएको आशंका गरिएको छ।
सीमा सुरक्षा र तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालले विभिन्न नाकामा जनशक्ति र उपकरण परिचालन गरेको भए पनि तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको भन्दै स्थानीय व्यापारीहरू असन्तुष्ट देखिएका छन्।
तस्करहरूले अटो रिक्सा प्रयोग गरी वीरगंज भन्सारको मुख्य गेट, इनरवा, छपकैया, सिर्सिया हुँदै वडा प्रहरी कार्यालय विर्ता क्षेत्र आसपासबाट दुई नम्बर रोड हुँदै माईस्थान, महावीर स्थान, लाठ गल्ली, पम्पम बिल्डिंगलगायत स्थानमा सामान भण्डारण गर्ने गरेको स्रोतले जनाएको छ। त्यहाँबाट ती सामग्री स्थानीय बजारका पसलहरूमा पुर्याउने वा ट्रान्सपोर्टमार्फत अन्य जिल्लातर्फ पठाउने गरिएको छ।
स्थानीय स्तरमा सक्रिय जयलाल यादव, शेखावतलगायतले सीमामा रहेका सुरक्षा जाँच चौकीहरू छलेर तस्करी सफल बनाएको चर्चा व्यापारीबीच चल्न थालेको छ। “हरेक पाइला-पाइलामा चेकपोस्ट हुँदाहुँदै पनि कसरी दिनदिनै
यति ठूलो मात्रामा सामान भित्रिन्छ?” भन्ने प्रश्न इमान्दार व्यापारीहरूले उठाउन थालेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले शान्ति सुरक्षा कायम राख्न सक्रियता देखाइरहेका बेला तस्करीसँगै लागुऔषध भित्रिने क्रम बढ्नुले सुरक्षा चुनौती थपिएको सरोकारवालाहरू बताउँछन्। सम्बन्धित निकायको प्रभावकारी निगरानी र कडाइ बिना यस्ता गतिविधि नियन्त्रणमा आउन कठिन हुने स्थानीयको भनाइ छ।
आज मात्र प्रहरीले नेपाल भित्रिन लागेको ७ केजी भन्दा बढी गाँजासहित तीन भारतीयलाई नियन्त्रणमा लिएको छ।
















