काठमाडौँ । झण्डै दुई तिहाइ नजिक बहुमत प्राप्त सरकार गठन भएको तीन दिनभित्र सुशासन कायम गर्ने भनेर उच्च तहका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न लागिरहेका बेला सिंहदरवार नजिकै सरकारी अड्डाका एकजना कर्मचारी भने धमाधम घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सञ्जय चौधरीलाई ३० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
उद्योग नवीकरणका लागि सेवाग्राहीसँग घुस माग हैरानी दिएको भन्ने सूचनाका आधारमा प्राविधिक सहायक चौधरीलाई विभागकै परिसरबाट सोमबार नियन्त्रणमा लिएको आयोगले जनाएको छ । आयोगको टंगालबाट खटिएको टोलीले विशेष सूचना तथा उजुरी निवेदनका आधारमा अनुगमन तथा निरीक्षण शाखामा कार्यरत प्राविधिक सहायक चौधरीलाई रंगेहात पक्राउ गरेको हो ।
चौधरीले सेवाग्राहीबाट ३० हजार घुस र रिसवत लिइसकेको अवस्थामा उक्त रकम र मोबाइल थान–२ समेत नियन्त्रणमा लिइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

















