२०८३ बैशाख १३ गते, आईतवार ११:४८

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं/ गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारस्थीत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सबै प्रकारका तयारी गर्न निर्देशन दिएका हुने ।

सो क्रममा प्राधिकरणका अधिकारीहरूले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत साधन तथा अन्य तयारीका बारेमा जानकारी गराएका थिए ।

मनसुन आउनुभन्दा पहिले नै आवश्यक तयारी गरे धनजनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले अहिलेदेखि नै तयारी गर्न आफूले निर्देशन दिएको गृहमन्त्री गुरुङले बताए ।

उनले नेपाल प्राकृतिक विपद्को जोखिम राष्ट्र भएकाले पनि सबै मिलेर जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । पाठ्यक्रममा नै समावेश गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा प्रदान गर्नका लागि पनि काम भइरहेको उनको भनाइ छ ।

आफू १० वर्ष अघिदेखि नै विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरेको भन्दै मन्त्री गुरुङले अहिले आफू हैसियत बनाएर नै काम गर्ने ठाउँमा आएको प्रतिक्रिया दिए । अव कुनै पनि नागरिकले प्राकृतिक विपद्बाट ज्यान गुमाउन नपर्ने गरी तयारी हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM