वीरगंज/भन्सार क्षेत्रबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा भन्सार एजेन्ट संघसँग आबद्ध एक व्यक्ति ठूलो परिमाणको नगद तथा मोटरसाइकलसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको टोलीले विशेष सूचनाका आधारमा चेकजाँच कडाइ गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्ति विनय शंकर साह तुराहा रहेको खुलेको छ, जो वीरगञ्ज भन्सार एजेन्ट संघसँग सम्बन्धित कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। उनको साथबाट स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको प्रहरीले जनाएको छ। साथै उनी सवार भारतीय नम्बर प्लेट बीआर०५बी के ८६०३ नम्बरको कालो रङ्गको होन्डा साइन मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीले उनीसँगै भेटिएको भन्सार एजेन्ट संघको परिचयपत्र समेत बरामद गरेको छ, जसबाट उनी उक्त संस्थासँग आबद्ध रहेको पुष्टि हुने प्रारम्भिक संकेत देखिएको छ। उक्त परिचयपत्रमा उनलाई सहायक कर्मचारीको रूपमा उल्लेख गरिएको छ।
सशस्त्र प्रहरीले बरामद नगद, मोटरसाइकल तथा अन्य कागजातसहित पक्राउ परेका तुराहालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ। सशस्त्र प्रहरीका इन्चार्ज विकास अधिकारीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ र अवैध हुण्डी कारोबार नियन्त्रणका लागि निगरानी अझ सुदृढ बनाइएको छ।














