२०८३ बैशाख ५ गते, शनिबार १३:१३

विपतको बेला होटल पनि आश्रय: काठमाडौँ महानगर र होटल व्यवसायीबीच सहकार्यको सहमति

काठमाडौँ/विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिका र जिल्ला होटल व्यवसायी संघ काठमाडौँ बीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ।

यसै सन्दर्भमा बागदरबार, सुन्धारास्थित महानगरपालिकाको कार्यालयमा काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख विष्णुप्रसाद जोशी र जिल्ला होटल व्यवसायी संघ काठमाडौँका प्रतिनिधिहरूबीच विशेष भेटघाट तथा छलफल सम्पन्न भएको हो। भेटघाटकार्यक्रममा विपत्को अवस्थामा होटल व्यवसायीहरूले गर्न सक्ने सहयोग, राहत तथा व्यवस्थापनका विषयमा विस्तृत रूपमा छलफल भएको बताइएको छ।

छलफलका क्रममा महानगरपालिकाका प्रहरी प्रमुख जोशीले प्राकृतिक विपत्ति, आगलागी, भूकम्प, बाढीपहिरो जस्ता आपतकालीन परिस्थितिमा होटल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे। उनले विपत्को समयमा अस्थायी आवास, राहत वितरण, स्वयंसेवक परिचालन तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन होटल व्यवसायीहरू महत्त्वपूर्ण साझेदार बन्न सक्ने बताए।

उनले महानगरपालिकाले विपत् व्यवस्थापनका कार्यक्रमलाई थप प्रभावकारी बनाउन निजी क्षेत्रसँग सहकार्यलाई विशेष प्राथमिकता दिएको पनि स्पष्ट पारे। साथै, विपत्को समयमा आवश्यक परेमा होटल व्यवसायीहरूलाई समन्वयमा ल्याएर सुरक्षित आवास, खाना तथा अन्य सेवा उपलब्ध गराउने विषयमा महानगरपालिका सकारात्मक रहेको र यसका लागि आवश्यक संरचना तथा संयन्त्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसै अवसरमा जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले विपत्को अवस्थामा मानविय सेवाका लागि होटल व्यवसायीहरू सदैव तयार रहने बताएका छन्। उनले विपत् परेका नागरिकलाई तत्काल राहत, सुरक्षित बसोबास तथा आवश्यक सहयोग उपलब्ध गराउन होटल व्यवसायीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै महानगरपालिकासँग सहकार्य गर्न संघ प्रतिबद्ध रहेको बताए।

अध्यक्ष बरालले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका धेरै होटलहरू विपत्को समयमा अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गर्न सकिने बताउँदै आवश्यक परेमा संघका सदस्य व्यवसायीहरूलाई परिचालन गरेर प्रभावित नागरिकलाई सहयोग पुर्‍याउन सकिने धारणा व्यक्त गरे। उनले विपत् व्यवस्थापन जस्तो संवेदनशील विषयमा सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि जोड दिए।

जिल्ला होटल व्यवसायी संघ काठमाडौँ काठमाडौं जिल्लाभर सञ्चालनमा रहेका होटल तथा आतिथ्य व्यवसायीहरूको साझा संस्था हो। संघले होटल व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायिक हित संरक्षण, पर्यटन प्रवर्द्धन, व्यवसायिक वातावरण सुधार तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। होटल व्यवसायीहरूको हक-हित संरक्षणसँगै समाजमा आवश्यक पर्दा सहयोग पुर्‍याउने विभिन्न सामाजिक गतिविधिमा पनि संघ सक्रिय रहँदै आएको छ।

भेटघाटका क्रममा आगामी दिनमा विपत् व्यवस्थापनको क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने, आवश्यक तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्ने, आपतकालीन अवस्थामा छिटो सूचना आदान–प्रदान गर्ने तथा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।

उक्त भेटघाटले काठमाडौँ महानगरपालिका र होटल व्यवसायीहरूबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। विपत्को अवस्थामा राज्यका निकाय र निजी क्षेत्रबीचको समन्वयले राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM