२०८३ बैशाख १४ गते, सोमबार १४:४१

पर्सा-१ मा मौन अवधिमा एसएमएसबाट मत माग्दै रुङ्गटा, आचारसंहिता उल्लंघन

वीरगंज/पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा मौन अवधिका बेला मतदातालाई मोबाइल सन्देश पठाएर मतदानका लागि आग्रह गरिएको घटना सार्वजनिक भएको छ। अनिल रुंगटाको नामबाट पठाइएको भनिएको एसएमएसमा “रुख” चुनाव चिह्नमा भोट हाल्न अनुरोध गरिएको उल्लेख छ।

स्थानीय मतदाताका अनुसार मौन अवधि सुरु भइसकेपछि उनीहरूको मोबाइलमा उक्त सन्देश आएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार तथा मत माग्ने गतिविधि निषेधित रहन्छ। यस अवस्थामा मोबाइल सन्देशमार्फत मत मागिएको भन्दै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको आरोप उठेको छ।

केही मतदाताले प्राप्त सन्देशको स्क्रीनसट सुरक्षित राखेको बताएका छन्। घटनाबारे आधिकारिक उजुरी परेको/नपरेको विषय स्पष्ट भइसकेको छैन, तर स्थानीयस्तरमा यसले चर्चा पाएको छ।

चुनाव नजित्दै निर्वाचन आयोगको आचारसंहितालाई नटेर्ने, कानून नमान्ने रुङ्गटा चुनाव जितेर कानून बनाउने ठाउँमा पुगेपछि कस्तो काम गर्लान्? सहजै अनुमान लगाउन सकिन्छ।

एसएमएस कालागि रुङ्गटाले मतदाताहरूको मोबाइल नम्बर कसरी संकलन गरे? भन्ने प्रश्नसमेत उठेको छ। व्यक्तिगत विवरण प्रयोग गरिएको हो वा अन्य माध्यमबाट नम्बर प्राप्त गरिएको हो भन्ने विषय खुल्न बाँकी छ।

घटनाबारे प्रतिक्रिया लिन खोज्दा सम्बन्धित पक्षको धारणा प्राप्त हुन सकेन। निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनाबारे हालसम्म मौन देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM