२०८३ बैशाख १४ गते, सोमबार १६:१३

पर्सा-१ मा प्रदीप यादवप्रति बढ्दो असन्तुष्टि: एउटै उम्मेदवार दोहोरिँदा दम्भ बढ्ने डर

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन दलगत प्रतिस्पर्धामा मात्र सीमित देखिँदैन। यहाँको चुनावी बहसको केन्द्रमा छन्- प्रदीप यादव।

दुई पटक निर्वाचित भइसकेका यादव अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारका रूपमा मैदानमा छन्। तर स्थानीय स्तरमा उनको उम्मेदवारीलाई लिएर समर्थनभन्दा बढी प्रश्न उठिरहेका छन्।

“एउटै व्यक्तिलाई पटक-पटक अवसर दिँदा जनप्रतिनिधि होइन, शक्ति केन्द्र बन्छ,” वीरगंज-छपकैया क्षेत्रका एक स्थानीय अगुवा भन्छन्, “दोस्रो कार्यकालमै उहाँमा आलोचना नसुन्ने प्रवृत्ति देखियो।”

मधेश र मधेशी अधिकारको मुद्दा उठाउँदै राजनीतिक उचाइ बनाएका यादव अहिले मधेशमै ‘अनुकूल नभएको’ ठानिने दलको उम्मेदवार बनेपछि मतदाताबीच असहजता देखिएको छ। “हामीलाई भावनामा जितेर गएका नेता अहिले फरक धारमा उभिनु नै ठूलो प्रश्न हो,” एक युवा मतदाता भन्छन्।

स्थानीय विश्लेषकहरू भन्छन्, दल परिवर्तन स्वाभाविक प्रक्रिया हो, तर मतदातासँग स्पष्ट संवाद नगरी गरिएको निर्णयले अविश्वास बढाउँछ। विशेषगरी मधेशजस्तो पहिचान र संवेदनशीलताको राजनीति गर्ने क्षेत्रमा वैचारिक स्थिरता नै विश्वासको आधार मानिन्छ।

स्थानीय मतदाताहरूको एकथरी विश्लेषण छ, एउटै व्यक्तिलाई पटक-पटक अवसर दिँदा नेतृत्वमा दम्भ, एकाधिकारवादी प्रवृत्ति र आलोचना नस्वीकार्ने संस्कार हाबी हुने जोखिम बढ्छ। “दोस्रो कार्यकालमै जनअपेक्षा अनुसार काम नभएको अनुभव गरिसक्यौं,” वीरगंजका एक व्यवसायी भन्छन्, “अब फेरि त्यही अनुहारलाई दोहोर्याउनु भनेको लोकतान्त्रिक विकल्पलाई संकुचित गर्नु हो।”

प्रदीप यादव मधेश र मधेशी अधिकारको मुद्दा उठाउँदै दुईपटक निर्वाचित भएका नेता हुन्। तर यतिबेला उनी मधेशमै ‘मधेशी भावना विपरीत’ ठानिने दलको उम्मेदवार बनेर मैदानमा उत्रिँदा राजनीतिक निष्ठा र सिद्धान्तमाथि प्रश्न उठेको छ। “मधेश र मधेशीको भावनालाई भजाएर निर्वाचित हुने, अनि त्यही भावनालाई अस्वीकार गर्ने दलको झण्डामुनि उभिनु जनतामाथि घात हो,” एक स्थानीय अधिवक्ता भन्छन्।

यता, चुनावी प्रतिस्पर्धा भने त्रिपक्षीय देखिन्छ। नेपाली कांग्रेसबाट अनिल रुंगटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त र जनता समाजवादी पार्टीबाट रामनरेश यादव मैदानमा छन्। कांग्रेस र रास्वपाबीच कडा टक्करको आकलन भइरहँदा, एमालेका प्रदीप यादवविरुद्धको असन्तुष्टि चुनावी परिणाममा कति प्रभाव पार्छ भन्ने चासो बढेको छ।

स्थानीय मतदाताहरु प्रतिनिधि फेरिँदा राजनीतिक सन्देश जान्छ भन्ने बुझाईमा छन् । एउटै अनुहारलाई निरन्तर दोहोर्याउनु लोकतान्त्रिक विकल्पलाई संकुचित गर्नु हो।

पर्सा-१ मा यसपटकको मतदान केवल जित हारको हिसाब होइन, विगतको मूल्यांकन र भविष्यको संकेत पनि हुनेछ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM