२०८३ बैशाख १४ गते, सोमबार १७:५६

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन होटल व्यवसायी संघको अपिल

काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले मध्यपूर्व एसियाका विभिन्न मुलुकमा बसोबास तथा रोजगारीका लागि रहेका नेपाली नागरिकलाई वर्तमान जटिल अवस्थालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

संघका अध्यक्ष सुरेश बरालद्वारा जारी विज्ञप्तिमा त्यहाँ रहेका नेपालीलाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न, सम्बन्धित देशका सरकारी निकायबाट जारी हुने आधिकारिक निर्देशनको पूर्ण पालना गर्न तथा अनावश्यक आवागमनबाट जोगिन अनुरोध गरिएको छ।

विज्ञप्तिमा राजदूतावास तथा कूटनीतिक नियोगहरूले उपलब्ध गराउने सूचना नियमित रूपमा अध्ययन गर्न र आवश्यक परेमा तत्काल सम्पर्कमा रहन सुझाव दिइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सकेसम्म सुरक्षित स्थानमै बस्न, नजिकको आश्रयस्थलको जानकारी राख्न र आपत्कालीन अवस्थामा छिटो समन्वय गर्न संघले सचेत गराएको छ।

“आधिकारिक स्रोतबाट प्राप्त सूचना र निर्देशनलाई गम्भीरतापूर्वक लिनुहोस्, सुरक्षित र सजग रहनुहोस्,” विज्ञप्तिमा अध्यक्ष बरालको भनाइ उद्धृत गरिएको छ।

मध्यपूर्वका केही क्षेत्रमा देखिएको तनावपूर्ण परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको सुरक्षाबारे चासो बढिरहेका बेला संघको यो अपिल सार्वजनिक भएको हो।

यसैबीच, उडान रद्द भएर काठमाडौंमै अलपत्र परेका तथा खान–बस्न समस्या भोगिरहेका नागरिकलाई संघले निःशुल्क आवास तथा भोजनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। सहयोग आवश्यक परेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्प डेस्कमा सम्पर्क गर्न सकिने संघले जनाएको छ। फोन नं. ०१–५९२९२५५, ९८०५५१०११० र ९८५१०–४०२९६ मार्फत जानकारी लिन सकिने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM