२०८३ बैशाख १४ गते, सोमबार १७:५१

‘बाबुरामलाई राष्ट्रपति बनाउने’ समझदारीपछि गोरखामा कांग्रेसलाई प्रलोपाको साथ

काठमाडौँ, १६ फागुन। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ।

प्रलोपाले यही फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ। समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरिएको प्रलोपाका गोरखा जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो।

दुई दलबीच ‘बाबुराम भट्टराईलाई भविष्यमा राष्ट्रपति बनाउने’ समझदारीसहित सहकार्य गर्ने सहमति बनेको स्रोतको दाबी छ। सोही राजनीतिक समझदारीअनुसार प्रत्यक्षतर्फ कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिएको बताइएको छ।

प्रलोपाको हालै सम्पन्न जिल्ला बैठकले गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई सहयोग गर्ने औपचारिक निर्णय गरेपछि कांग्रेसले उक्त कदमको स्वागत गर्दै आभार प्रकट गरेको छ।

यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा डा. भट्टराईले कांग्रेससँग चुनावी तालमेल गरी गोरखा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो। यस पटक भने प्रलोपाले गोरखाका दुवै क्षेत्रमा दिएको उम्मेदवारी फिर्ता लिँदै कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको हो।

राजनीतिक वृत्तमा यस सहकार्यलाई आगामी शक्ति समीकरण र उच्च पदस्थ राजनीतिक भागबन्डाको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM