२०८३ बैशाख १५ गते, मंगलवार ०२:५६

राजाको सन्देशप्रति विश्व हिन्दु महासंघको समर्थन

काठमाडौं । विश्व हिन्दु महासंघ ले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा ज्ञानेन्द्र वीरविक्रम शाहदेव ले देशवासीका नाममा दिएको सन्देशको स्वागत, समर्थन तथा साधुवाद ज्ञापन गरेको छ। महासंघकी अध्यक्ष अस्मिता भण्डारीद्वारा जारी विज्ञप्तिमा राजाबाट अभिव्यक्त धारणा यथार्थपरक, सन्तुलित र दूरदर्शी रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा राष्ट्रिय एकता, संवैधानिक प्रक्रिया, पारस्परिक सम्मान र सामूहिक कर्तव्यबोधप्रति गरिएको आह्वान वर्तमान जटिल राजनीतिक परिवेशमा अत्यन्त सान्दर्भिक भएको जनाइएको छ। मुलुक धर्मान्तरणको चपेटामा परेको र राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको अवस्थामा राजाको सम्बोधनले आम नेपालीको भावना, आकांक्षा र चिन्तालाई प्रतिविम्बित गरेको महासंघको ठहर छ।

महासंघले राजाबाट व्यक्त “राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने” धारणा गम्भीर रूपमा लिन प्रमुख राजनीतिक शक्तिहरूसँग आग्रह गरेको छ। राष्ट्रिय सहमति र सबै पक्षलाई समेटेर समझदारी कायम गरेपछि मात्र निर्वाचनमा जाँदा देशले सही दिशा समात्ने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ।

नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक विशिष्टतालाई ध्यानमा राख्दै वैदिक सनातन हिन्दु अधिराज्यको संवैधानिक पहिचान कायम गर्न आवश्यक रहेको महासंघको धारणा छ। यसका लागि सबै सरोकारवाला पक्षसँग संवाद वा सम्मेलनमार्फत राष्ट्रिय सहमति जुटाउन उच्चस्तरीय वार्ता समिति गठन गर्न महासंघले अपिल गरेको छ।

महासंघले राष्ट्रिय सहमति निर्माणका जुनसुकै सकारात्मक पहलमा सहकार्य, सहभागिता र सहयोग गर्न आफूहरू सक्रिय रहने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM