सर्लाही/सिङ्गो देश चुनावमा होमिएको मौका छोपेर मधेश प्रदेशको संवेदनशील मानिएकोमध्ये एक सर्लाही जिल्लाबाट निर्वाध रुपमा तस्करी भैरहेको समाचारहरू जानकारीमा आएका छन्।
सर्लाहीको मधुवनी र बहादुरपुर सीमा क्षेत्रमा पछिल्लो समय तस्करी खुलेआम मौलाएको छ। चुनावी माहोलको व्यस्ततालाई अवसर बनाएर सशस्त्र प्रहरीकै मिलेमतोमा दुबै बीओपी हुँदै भारत-नेपाल दोहोरो तस्करी निर्बाध रूपमा चलिरहेको छ।
स्थानीय स्रोतहरूका अनुसार मधुवनी बीओपीका इन्चार्ज इन्स्पेक्टर दीपेन्द्र पौडेल र बहादुरपुर बीओपीका सई इन्चार्जको संरक्षणमा तस्करी सहज बनाइएको छ। दिनहुँ भारतबाट नेपालतर्फ माछा, कपडा, सख्खर (गुड) र चिनी भित्रिने गरेको छ भने नेपालबाट केराउ, ब्राजिलियन मकै, चिनियाँ स्याउ, कवाडी र मदिरा भारततर्फ पठाइने गरेको छ।
स्रोतका अनुसार भारतबाट दिनमा कम्तीमा तीन गाडी सामान नेपाल भित्रिने गरेको छ। त्यसैगरी, नेपालबाट प्रत्येक रात २० देखि २२ वटा ट्याक्टरमा केराउ, ब्राजिलियन मकै र चिनियाँ स्याउ भारततर्फ लैजाने गरिएको छ। कहिलेकाहीँ त भारतीय पिकअप भ्यान नेपालतर्फै आएर सामान लाने गरेको बताइन्छ, जसले सीमा निगरानी पूर्ण रूपमा फितलो भएको संकेत गर्छ।
यस तस्करी नेटवर्कमा विजय यादव, श्रवण यादव, नवीन चौधरी र राजेश ठाकुरलगायतका व्यापारी सक्रिय रहेको बताइन्छ। मधुवनी क्षेत्रमा इन्स्पेक्टर दीपेन्द्र पौडेलको सेटिङमा कवाडीका दर्जनौँ गाडी दैनिक भारततर्फ जाने गरेको दाबी समेत गरिएको छ।
तस्करीको ‘लाइन’ मिलाउने भूमिकामा सशस्त्र मुख्यालयमा तानिएका सहायक हवल्दार रोशन मिश्रको नाम पनि जोडिएको छ। मधेश प्रदेशमा लामो समय ‘घुमुवा’ रूपमा बसेका मिश्र रौतहटमा तस्करीको चिनी लुकाएको घटनापछि मुख्यालय तानिएका थिए। तर, उनी अहिले पनि सर्लाहीका तस्करहरूसँग प्रत्यक्ष समन्वय गरिरहेको आरोप छ। स्रोतका अनुसार मिश्रकै माध्यमबाट सर्लाहीका एसपीदेखि सशस्त्रका मधेश प्रदेशका डीआईजी कृष्ण ढकालसम्म सेटिङ मिलाइने गरेको दाबी गरिएको छ।
यसअघि १० नम्बर गण सर्लाहीमा कार्यरत एसपी देवीबहादुर चन्दको कार्यकालमा पनि तस्करी सेटिङमै चलेको आरोप लाग्दै आएको थियो। २०८२ माघ ४ गते १० नम्बर गण सर्लाहीमा सरुवा भएर आएका एसपी अमरबहादुर खत्रीको आगमनपछि पनि नेटवर्क पूर्ण रूपमा तोडिएको छैन भन्ने गुनासो स्थानीयस्तरमा उठिरहेको छ।
सर्लाही र रौतहट जोड्ने तस्करी सञ्जालबारे सुचना सशस्त्र मुख्यालयको अनुगमन शाखासम्म पुगेको आरोप समेत छ। अनुगमनका डीएसपी सुदीप रेग्मीले घुमुवा सहायक हवल्दार रोशन मिश्र र हवल्दार राजीव यादवमार्फत् सर्लाहीदेखि रौतहटसम्मको तस्करी व्यवस्थापन गर्ने गरेको दाबी गरिएको छ। रेग्मी सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालका विश्वासपात्र मानिन्छन्।
सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा भने “सीमा सुरक्षाको जिम्मेवारी पाएकै निकायको संरक्षणमा तस्करी फस्टाइरहेको” भन्दै उच्चस्तरीय छानबिन र कडा कारबाहीको माग गरिरहेका छन्। समयमै गम्भीर अनुसन्धान नभए सर्लाहीको सीमा तस्करी र संगठित अपराधको स्थायी मार्ग बन्दै जाने उनीहरूको चिन्ता छ।
















