वीरगंज/पर्सा प्रहरीले नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीको निर्वाचन क्षेत्रमा ठूलो मात्रामा अवैध लागु औषध गाँजा फडानी र नष्ट गरेको छ।
प्रहरीले दिएको जानकारी अनुसार शनिवार दिउँसो १२:०० बजे, जि.पर्सा, पटेर्वासुगौली गाउँपालिका–४, सुगौलीस्थित ऐलानी अ.१ कट्टा जग्गामा अवैध रुपमा करिब ८०० गाँजाका बोटहरू खेती भइरहेको जानकारी प्राप्त भएको थियो। उक्त सुचनाको आधारमा पटेर्वासुगौली इ.प्र.का.बाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा ७ जनाको टोली खटिएको थियो। टोलीले तत्कालै उक्त बोटहरू फडानी गरी नष्ट गरेको जानकारी दिइएको छ।
फाल्गुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका सुरेन्द्र चौधरी पटकपटक निर्वाचित नेता एवं पूर्वमन्त्री हुन्। उनका क्षेत्रमा विगतमा अवैध लागु औषधि खेती, ओसार–पसार र वनजंगल फडानीजस्ता गतिविधि भएको धेरैपटक तथ्यांकमा देखिएको छ।
पर्सा प्रहरीले बताएअनुसार, यस किसिमका क्रियाकलाप रोक्न र स्थानीय क्षेत्रमा शान्ति कायम राख्नका लागि आगामी दिनमा निगरानी अझ कडा गर्ने योजना बनाएको छ।
















