कलैया । मकवानपुरका पहाडी क्षेत्र र त्यस आसपासका जंगलमा गाँजाखेती हुने र त्यो गाँजा बाराका बिभिन्न नाका हुँदै भारत पुग्ने गरेको छ ।
बारामा प्रहरीसँग सेटिङ नमिल्दा फाट्टफुट्ट बरामद भएपनि क्वीन्टलका क्वीन्टल गाँजा मकवानपुर हुँदै भारतको पूर्वी चम्पारण पुग्ने गरेको छ ।
मकवानपुरका पहाडी भेगबाट हेटौंडाको चौकीटोल प्रहरी चौकी, रातमाटे चेकपोष्ट हुँदै बाराको सिम्रौनगढबाट गाँजाँ भारत लाने गरिएको छ । त्यसो बाराकै रतनपुरी क्षेत्रबाट उत्पादित गाँजा समेत सिम्रौनगढ हुँदै भारत पुग्ने गरेको छ ।
सिम्रौनगढ इलाका प्रहरी कार्यालय बाराबाट विगत ४ महिनादेखि खुलेआम गाँजा भारततर्फ तस्करी हुँदैआएको छ । सबैको ध्यान चुनावमा भएको समयमा सिम्रौनगढ इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर कृष्णदेव प्रसाद साह(केडी) ले गाँजा तस्करीको सेटिङ चलाएका छन् ।
दैनिक क्वीन्टलका क्वीन्टल गाँजा सिम्रौनगढबाट भारतको पूर्वी चम्पारणतर्फ तस्करी हुने गरेको छ । इन्स्पेक्टर केडी साहले भारतको अगार्वा गाउँका गाँजा कारोबारी अजय यादव र विकास यादवसँग प्रहरी सहायक निरीक्षक(असई) भगवान यादव मार्फत् सेटिङ मिलाउने गरेको स्रोत बताउँछ ।
प्रतिकिलो ५ सय रुपैयाँमा सेटिङ मिलाएर गाँजा भारततर्फ तस्करी हुने गरेको स्रोत बताउँछ । केडी साह विगत ४ महिनादेखि सिम्रौनगढ इलाका प्रहरी कार्यालयको इन्चार्ज छन् । पूर्वआईजीपी चन्द्रकुवेर खापुङले साहलाई सिम्रौनगढ इलाका प्रहरीको इन्चार्जमा सरुवा गरेका थिए ।
सर्वेन्द्र खनाल आईजीपी हुँदा मधेश प्रदेशको घुमुवा टोलीको इन्चार्ज रहेका केडी साहले त्यहीबेलादेखि नै असई भगवानलाई आफू जहाँ सरुवा भयो, त्यहीँ लाने र घुमुवाका रुापमा खटाउने गरेका छन् ।
केडी यादवले प्रहरी जवान छोटेलाल पटेललाई पनि सिम्रौनगढमा घुमुवाका रुपमा परिचालन गरेका छन् । यसअघि सिम्रौनगढ इलाका प्रहरीमा २२ महिना सादा पोशाकको घुमुवाका रुपमा खटिएका छोटेलाल यादव एक युवतीको मामिलामा विवादमा परेपछि कारबाहीस्वरुप निजगढ तानिएका थिए । अहिले केडी साहले उनलाई सिम्रौनगढमकै ल्याएर घुमुवाका रुपमा असुलीमा लगाएका छन् ।
सर्वेन्द्र आईजीपी हुँदा मधेश प्रदेशका ८ वटै जिल्लामा केडी यादवले घुमुवाका रुपमा तस्करीदेखि गाँजाको नेटवर्कसँग सेटिङ गरेको आरोप लागेको थियो ।










