काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले सरकारी साक्षी झिकाउने आदेश दिएको छ।पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा आइतबार अदालतबाट सो निर्देशन जारी भएको हो।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाइपछि साक्षी बुझ्ने प्रक्रिया प्रारम्भ गर्न आदेश दिइएको अदालत स्रोतले जनाएको छ।पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट बिक्री गर्न दिएर अनियमितता गरेको भन्दै गत २२ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोग पत्रमा छ ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा आयोगले माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरेको छ।
















