सर्लाही । सर्लाहीका सीमा नाकाहरू पछिल्लो समय संगठित तस्करीको केन्द्र बन्दै गएका छन् । सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी अन्तर्गतका सुरक्षा निकायका अधिकारी तथा स्थानीय चौकी इन्चार्जहरूसँगको मिलेमतोमा कवाडी, माछा, उपभोग्य वस्तु र अन्य सामानको तस्करी खुलेआम भइरहेको गम्भीर आरोप सार्वजनिक भएका छन् ।
सशस्त्र प्रहरी बल १० नम्बर गण सर्लाहीका एसपी देवबहादुर चन्दको सरुवा हुने समय नजिकिँदै जाँदा सीमा निगरानी कमजोर बनेको र यही अवस्थाको फाइदा उठाउँदै तस्करी गतिविधि झनै तीव्र भएको स्रोतको दाबी छ । मधुवनी नाकाबाट दैनिक करोडौँ रुपैयाँ बराबरको कवाडी भारततर्फ तस्करी भइरहेको छ भने चिनियाँ स्याउसमेत अवैध रूपमा निकासी हुने गरेको बताइन्छ ।
स्रोतका अनुसार कवाडी तस्करीका मुख्य कारोबारी बिजय यादवले प्रहरी चौकी बहादुरपुरका इन्चार्ज असई राजकुमार रमतेललाई मासिक ‘नजराना’ बुझाएर अवैध कारोबार निर्बाध रूपमा सञ्चालन गर्दै आएका छन । रमतेल यसअघि प्रहरी चौकी पोखरियामा कार्यरत रहँदा पनि तस्करहरूसँग साठगाँठ गरी असुली धन्दा चलाएको विषय जिल्ला प्रहरी कार्यालयमै चर्चामा रहेको बताइन्छ ।
त्यस्तै प्रहरी चौकी अर्नाहाका असई सन्तोष साहले पनि तस्करहरूसँग मासिक असुली उठाएर दर्जनौँ ट्याक्टर र पिकअप गाडीलाई ‘लाइन’ दिएको आरोप लागेको छ । नाम नखोल्ने सर्तमा एक स्थानीय व्यापारीका अनुसार अर्नाहा नाकाबाट हुने अवैध आवतजावतमा शाहको प्रत्यक्ष संलग्नता छ ।
यसैबीच सशस्त्र प्रहरीतर्फ पनि गम्भीर आरोप उठेका छन् । मधुवनी बीओपीका इन्चार्ज इन्स्पेक्टर दीपेन्द्र पौडेलको सेटिङमा कवाडीका दर्जनौँ गाडी दैनिक भारततर्फ जाने गरेको स्रोतको दाबी छ । त्यस्तै छन्की–लक्ष्मीपुर नाकाबाट भारतीय माछा नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म फेनहरा र छतौना बीओपीबाट खटिएका घुमुवाले स्कर्टिङ गर्ने गरेको आरोप छ ।
दैनिक तीन पिकअप भारतीय माछा पिलर नम्बर ३३९÷५ हुँदै नेपाल भित्र्याइने र बागमती पुलसम्म सुरक्षाकर्मीले नै सुरक्षित रूपमा पुर्याइदिने गरिएको बताइन्छ । राजेश ठाकुर र नवीन चौधरीले उक्त माछा नेपाल भित्र्याउने गरेका छन् । मानव स्वास्थ्यका लागि घातक फर्मालिनजस्ता विषादी प्रयोग गरिएका माछा नारायणगढ हुँदै काठमाडौं लगायतका सहरसम्म पुर्याइने गरेको आरोपले सार्वजनिक स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भएको छ ।
फेनहरा गुल्मका डीएसपी रंजनकुमार बुढाथोकी मातहतका घुमुवा सहायक हवल्दार सुरेन्द्रप्रसाद यादव र छतौना बीओपीका संजय पण्डित तस्करीको ‘सेटिङ’ र स्कर्टिङमा संलग्न रहेको आरोप छ । सशस्त्र मुख्यालयमा तानिएका सहायक हवल्दार रोशन मिश्राले समेत सर्लाहीबाट माछा भित्र्याउने समूहसँग लाइन मिलाएको दाबी गरिएको छ, जसलाई सशस्त्र मुख्यालय अनुगमन शाखाका डीएसपी सुदीप रेग्मीले संरक्षण गरेको आरोप पनि उठेको छ ।
यसका साथै छन्की नाकाबाट युनिलिभरका उत्पादन भारततर्फ भन्सार छली तस्करी हुने गरेको आरोप छ । जनमत पार्टीका नेता संजय सिंहको घरमा गोदाम राखी कन्हैया झाका दाजुभाइले ती सामग्री भारत पठाउने गरेको स्रोत बताउँछ ।
सुरक्षा निकायकै संरक्षणमा भइरहेको भनिएको यस बहुआयामिक तस्करीले राज्यको राजस्वमा ठूलो क्षति र्पुयाएको, नेपाली व्यवसायीलाई विस्थापित बनाएको र आम नागरिकको स्वास्थ्य तथा सुरक्षामाथि गम्भीर जोखिम सिर्जना गरेको सरोकारवालाहरूको भनाइ छ ।
नेपाल फेस
















