काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै देश नै असफलताको दिशातर्फ धकेलिँदै गएको संकेत गरेका छन्। पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले निरन्तर संकटको सामना गर्नुपरेको बताएका हुन्।
पूर्वराजा शाहले युवाशक्तिको तीव्र पलायनले मुलुकको भविष्य झन् जोखिममा पारिरहेको उल्लेख गरे। उनले युवा पुस्ताको चाहना, आवश्यकता र आकांक्षालाई समयमै सम्बोधन गर्न नसकिए असन्तोष बढ्दै जाने र त्यसले विद्रोहको स्वरूप लिन सक्ने चेतावनीसमेत दिए।
नेतृत्वले पटक–पटक युवालाई प्रयोग गर्ने तर उनीहरूको वास्तविक समस्या बुझेर समाधान गर्न उदासीन देखिएको आरोप लगाउँदै उनले यही प्रवृत्तिका कारण देशमा जनधनको ठूलो क्षति भएको बताए। युवालाई केन्द्रमा नराखी बनाइने नीति र निर्णयले मुलुकलाई थप संकटतर्फ धकेल्ने उनको भनाइ थियो।
देशप्रतिको चिन्ता केवल भावनात्मक विषय नभई अस्तित्वकै सवाल बनेको भन्दै पूर्वराजा शाहले नेतृत्व वर्गले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
हेर्नुहोस् भिडियो :
















