वीरगंज । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा नं. १३ गण हे.क्वा. पर्साले विपन्न परिवारलाई लक्षित गरी सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
पुस २४ गते २५औँ सशस्त्र प्रहरी दिवसको अवसर पारेर वीरगंज महानगरपालिका-२८ बगही निवासी अन्दाजी ३६ वर्षका मन्सी पटेलको घरमा गणबाट खटिएको टोलीले विद्युत् जडानसम्बन्धी सहयोग गरेको हो। मधेश आन्दोलनका जिउँदा शहीदका रूपमा परिचित पटेलको विभिन्न व्यक्तिहरूको सहयोगबाट निर्माण भएको जस्ताले छाएको तीन कोठे भवनमा हालसम्म विद्युत् सुविधा नभएकाले उक्त घरका तीनवटै कोठा तथा बाहिरपट्टि आवश्यक वायरिङ गरी पंखा समेत जडान गरिएको जनाइएको छ।

उक्त कार्य पौष २५ गते साँझ ५ बजे सम्पन्न भएको जानकारी दिँदै गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक पुरन भट्टले सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै सशस्त्र प्रहरीले समुदायसँग सहकार्य गर्दै यस्ता मानवीय सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनुभयो।

















