२०८३ बैशाख २२ गते, मंगलवार २२:१०

पर्सा प्रहरीद्वारा २२ के.जी. चरेशसहित अलि र पटेल पक्राउ

वीरगंज/ पर्सा प्रहरीले प्रतिबन्धित लागू औषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले दिनु भएको जानकारी अनुसार

विशेष सूचनाको आधारमा बिहीबार बिहान करिब ६ बजे पर्साको बिन्दवासिनी गाउँपालिका–२ स्थित गर्दौल चोकदेखि पूर्व पोखरिया–वीरगंज सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय पोखरिया तथा अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनाले बोकेको कालो झोला चेकजाँच गर्ने क्रममा पानी खाने १०–१० लिटरका ग्यालनभित्र घिउको तह मुनि लुकाएर राखिएको लागू औषध चरेश जस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिका-१५ मुर्ली बस्ने २० वर्षीय रैयस अलीले बोकेको ग्यालनसहित १० किलो ६०० ग्राम चरेश जस्तो देखिने पदार्थ तथा उनको साथबाट नगद १ हजार ५५० रुपैयाँ बरामद गरिएको छ। यस्तै पोखरिया नगरपालिका–८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेलले बोकेको ग्यालनसहित ११ किलो ४०० ग्राम चरेश जस्तो देखिने पदार्थ, नगद २ हजार ९०० रुपैयाँ र SUNELAN कम्पनीको किप्याड मोबाइल एक थान बरामद गरिएको छ।

बरामद गरिएको लागू औषध चरेश जस्तो देखिने पदार्थको तौल ग्यालनसहित जम्मा २२ के.जी. रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM