वीरगञ्ज/जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार आज पुस २१ गते साँझ ६ः०० बजेदेखि भोलि पुस २२ गते बिहान ६ः०० बजेसम्म कर्फ्यू लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको उक्त आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
कर्फ्यू लागू हुने क्षेत्रको सीमाना पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेट तोकिएको छ।
प्रशासनले कर्फ्यू अवधिमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। कर्फ्यू उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यद्यपि, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई आवश्यक पहिचानका आधारमा आवत–जावतमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।
जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सुरक्षाकर्मीलाई आवश्यक परे बल प्रयोग गर्न समेत अधिकार दिइएको प्रशासनको आदेशमा उल्लेख छ।
















