काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक बन्दसूचीमा समावेश भएकी कल्पना मगरले आफ्नो नाम सूचीबाट हटाउन आग्रह गरेकी छन् । आफू हालसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको र स्वतन्त्र रूपमा सक्रिय रहेको उल्लेख गर्दै उनले राप्रपाको बन्दसूचीबाट नाम फिर्ता लिन आग्रह गरेकी हुन् ।
राप्रपाले मगरलाई आदिवासी–जनजाति महिला क्लस्टर अन्तर्गत आठौँ स्थानमा राखेको थियो । तर, मगरले आफू कोटा प्रणालीको पक्षमा नरहेको स्पष्ट पारेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेकी छन्,
‘राप्रपाले मलाई जनजाती कोटाबाट समानुपातिक उम्मेदवार घोषणा गरेको रहेछ । सायद म योग्य भएरै एउटा सम्मान स्वरूप मलाई ठाउँ दिएको हुन सक्छ । तर यस्तो कोटा प्रणाली खारेज हुनुपर्छ भनिआएकी थिएँ । जबसम्म जनजाती, आदिवासी र दलित भन्ने कोटा प्रणाली रहिरहन्छ, तबसम्म यो वर्ग समुदाय कहिल्यै माथि उठ्न पनि सक्दैन भन्ने लाग्छ ।’
कल्पना मगरले हाल आफू राजनीतिमा प्रवेश गर्ने अवस्थामा नरहेको उल्लेख गरेकी छन् । तथापि, देश, धर्म र राजसंस्थाको पक्षमा आफ्नो अडान कायम रहने र राप्रपाप्रति नैतिक समर्थन रहेको उनले बताएकी छन् ।
उनले लेखेकी छन्,
‘मलाई लाग्छ मैले अहिलेनै राजनीति गर्ने समय आएको छैन । भविस्यमा म राजनितीमा गरौंला नगरौला त्यो समयले नै बताउने छ । अहिलेसम्म म स्वतन्त्र छु र स्वतन्त्र रही आफ्नो जागरण अभियान फैलाउने काम गर्न चाहन्छु । देश, धर्म र राजाको लागि मेरो स्वाभिमान कहिले डगमगाउने छैन । यी गणतन्त्रवादीहरुले मलाई राजाको रैती भनेपनी म ट्याग भिर्न तयार छु । म राप्रपा लाई नैतिक समर्थन गर्छु, गरिरहन्छु । तर मेरो समानुपातिक बाट गएको नाम हटाउन आग्रह गर्न चाहन्छु ।’
उनको यो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् ।

















