वीरगंज । भारत बिहारको पूर्वी चम्पारण, हरसिद्धीका स्थायी बासिन्दा हाल वीरगंज आदर्शनगर बस्दै आएका मुकेश अग्रवाल नामुद तस्करको रूपमा कुख्यात हुँदै आएका छन्।
तस्करीकै माध्यमबाट भारत-नेपाल दुबै मुलुकमा करिब एक हजार करोड रुपैयाँ बराबरको साम्राज्य खडा गर्न सफल भएका अग्रवाल हाल ओखर, मगज (खिराको बीउ), स्याउ र लाइटर भारततर्फ छिराउने तथा भारतबाट केराउ, काजु, जिरा, चिनी र कपडालगायतका सामग्री नेपाल भित्र्याउने ठूलो गिरोहमार्फत संस्थागत तस्करी सञ्चालन गरिरहेका छन्।
स्रोतका अनुसार नेपालतर्फका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान पथलैया तथा भारततर्फका सीमा सुरक्षा बल (एसएसबी), भारतीय सीमा शुल्क, राजस्व खुफिया निर्देशनालय, इन्टेलिजेन्स ब्युरो (आईबी), राष्ट्रिय जाँच एजेन्सी (एनआईए), प्रवर्तन निर्देशनालय (ईडी) र क्वारेन्टाइन विभागको मिलेमतोमा रौतहट जिल्लाका प्रायः सबै नाका तस्करीका लागि खुला गरिएको छ।
अग्रवालले आफ्नी नेपाली श्रीमतीको नाममा दर्ता गरिएको फर्म प्रयोग गरी तेस्रो मुलुकबाट आयात गरिएका ओखर र मगज रौतहटको चन्द्रपुर निवासी कुख्यात तस्कर सुनिल जायसवालमार्फत भारतको घोडासहन पठाउने गरेका छन्। भारततर्फ घोडासहनका सुबोध सिंहले सम्बन्धित सरकारी निकाय ‘मिलाउने’ जिम्मेवारी सम्हाल्दै आएको बताइन्छ।
नेपालतर्फबाट ओखर, किसमिस, मगज र लाइटर भारत पठाउने तथा भारतबाट केराउ, काजु, कपडा, चिनी र मोटर पार्ट्सलगायत किराना सामग्री नेपाल भित्र्याउने नेटवर्कमा गौर नगरपालिका मेयर शम्भु साह, उनका भाइ मनोज साह, राजपुरका इँटाभट्टा व्यवसायी खुर्शेद, सर्लाही बरहथवाका अन्तोष दास र गरुडाका धर्मनाथ साह सक्रिय रहेको स्रोतको दाबी छ। शम्भु साहलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको ‘दाहिने हात’का रूपमा चिनिन्छ।
पिकअप भ्यानमार्फत हुने तस्करीका सामानको मुख्य लोडिङ-अनलोडिङ केन्द्र रौतहटको बंकुल क्षेत्र तोकिएको छ। लक्ष्मीपुर बेलबिछवा, गौर भन्सार, महादेवपट्टी, बन्जरहा, रामपुरखाप, औरैया, मठिया, जयनगर, लतमरी र बंकुललगायत सबै नाका तस्करहरूको सहज आवतजावतको बाटो बनेका छन्।
सुरक्षा निकायकै उच्च स्रोतका अनुसार सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिन कार्की तथा सशस्त्र प्रहरी बल नं. ११ गण हेक्वा पर्साका सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीको प्रत्यक्ष संलग्नता वा संरक्षण बिना यति ठूलो परिमाणमा पिकअपमार्फत तस्करी सम्भव नहुने अवस्था छ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जिल्ला हुनु र आम निर्वाचन नजिकिँदै जानुका कारण रौतहटमा संस्थागत तस्करी अझै मौलाएको सुरक्षा विश्लेषकहरूको टिप्पणी छ। छिन्नमस्ता बाहिनीका बाहिनीपति कृष्ण ढकाल यसअघि रौतहटमै सशस्त्र प्रहरी उपरीक्षक भएर काम गरिसकेकाले पनि तस्करहरूप्रति ‘उदार’ देखिएको आरोप लाग्दै आएको छ।
नेपाल प्रहरीतर्फबाट घुमुवा सहायक हवल्दार नविन पाललाई तस्करहरूबाट पैसा संकलन गर्ने जिम्मेवारी दिइएको स्रोतको भनाइ छ। पैसाको चलखेल बढ्दै जाँदा प्रहरी संगठनभित्रै अनुशासनको गम्भीर संकट देखिन थालेको संकेतसमेत देखिएको छ।
















