परासी । पश्चिम नवलपरासीको दक्षिणी सीमावर्ती क्षेत्र बलिनगर नाका पछिल्ला केही वर्षयता तस्करीको प्रमुख केन्द्रका रूपमा परिचित हुँदै गएको छ। नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै खाद्यान्न, कपडा, कृषि उपजदेखि भन्सार छलीका विभिन्न सामानहरू दिनहुँजसो यही नाकाबाट भारततर्फ ओसारपसार हुँदै आएको स्थानीयको गुनासो नयाँ होइन। तर हालै घटेको एउटा घटनाले बलिनगर नाकाको वास्तविक अवस्था झनै उदाङ्गो बनाइदिएको छ।
बलिनगर नाकाबाट तस्करी गरी भारततर्फ लैजाँदै गरिएको ब्राजिलियन मकै बोकेको एक पिकअप गाडी भारतको करमिसवा गाउँमा भारतीय सीमा सुरक्षा बल (एसएसबी), भन्सार तथा राजस्व विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएपछि सीमापार तस्करी मात्र होइन, नेपाली सुरक्षा संयन्त्रको भूमिकामाथि पनि गम्भीर प्रश्न उठेको छ।
भारतीय पक्षले तस्करीको सामानसहित गाडी नियन्त्रणमा लिएसँगै त्यहाँका सञ्चारमाध्यम र सुरक्षा संयन्त्र सक्रिय देखिए। तर जुन नाकाबाट उक्त पिकअप नेपालतर्फबाट निर्वाध रूपमा भारत प्रवेश गर्यो, त्यही नाकामा तैनाथ नेपाली सुरक्षा निकायको तर्फबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। यो मौनताले बलिनगर नाका तस्करहरूको ‘सुरक्षित मार्ग’ बन्दै गएको आरोपलाई थप बल दिएको स्थानीयको भनाइ छ।
तस्करी, अवैध ओसारपसार र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यसहित राज्यले बलिनगरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको हो। बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरक्षाकर्मी खटिएका छन्, जसको प्रमुख जिम्मेवारी नियमित गस्ती, चेकजाँच र निगरानीमार्फत तस्करी नियन्त्रण गर्नु हो। तर व्यवहारमा भने अवस्था ठीक उल्टो देखिएको स्थानीयहरूको आरोप छ।
बलिनगर आसपासका बासिन्दा खुलेरै भन्छन्, “यहाँ तस्करी नियन्त्रण होइन, संरक्षण भइरहेको छ।” नाम नखुलाउने सर्तमा एक स्थानीय व्यापारी भन्छन्, “राति मात्र होइन, दिउँसै पनि गाडीहरू सीमा काट्छन्। चेकपोस्ट नजिकैबाट सामान ओसारिन्छ। सशस्त्र प्रहरीको आँखै अगाडि यस्तो भइरहेको छ भने त्यो अनजानमा हुन सक्दैन।”
स्थानीयका अनुसार बिओपी स्थापना भएपछि तस्करी घट्नुको सट्टा झनै व्यवस्थित र सुरक्षित बनेको छ। पहिले लुकिछिपी हुने तस्करी अहिले तालिकाबद्ध रूपमा, चिनजान र ‘सेटिङ’का आधारमा हुने गरेको आरोप उनीहरूको छ।
यस प्रकरणसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष के हो भने बलिनगर बिओपीमा नेतृत्व गरिरहेका सशस्त्र प्रहरी निरीक्षकसहित प्रमुख जिम्मेवारीमा रहेका अधिकारीहरूको जागिर अवधि जम्मा ७–८ महिना मात्रै रहेको बताइन्छ। अत्यन्त संवेदनशील सीमावर्ती क्षेत्रमा अल्प अनुभव भएका अधिकारीलाई जिम्मेवारी दिनु राज्यकै रणनीतिक कमजोरी हो कि नियोजित निर्णय? यो प्रश्न पनि उठ्न थालेको छ।
पूर्व सुरक्षाविद्हरूका अनुसार सीमावर्ती क्षेत्रमा अनुभव, इमानदारी र दबाब सहन सक्ने क्षमता अत्यन्त आवश्यक हुन्छ। नयाँ वा कम अनुभव भएका अधिकारीहरू प्रभाव, प्रलोभन र राजनीतिक तथा आर्थिक दबाबमा पर्न सक्ने जोखिम बढी रहने उनीहरूको भनाइ छ।
बरामद भएको ब्राजिलियन मकैको पिकअप घटनाले पछिल्लो समय बढ्दो अन्तर्राष्ट्रिय तस्करीको अर्को पाटो पनि उजागर गरेको छ। अन्तर्राष्ट्रिय बजारबाट आयात हुने मकै नेपाल भित्र्याई भन्सार छुट, कर संरचना र कमजोर निगरानीको फाइदा उठाउँदै अवैध रूपमा भारत पठाउने क्रम बढ्दो रहेको आरोप छ। यसले नेपाल र भारत दुवै देशको राजस्व प्रणालीमा ठूलो नोक्सानी पुर्याइरहेको विज्ञहरूको भनाइ छ।
करमिसवा गाउँमा एसएसबी, भन्सार र राजस्व विभागको संयुक्त टोली सक्रिय देखिनु भारतीय पक्षको कडाइको संकेत भए पनि प्रश्न उही छ-बारम्बार भारतमै तस्करीका सामान बरामद हुँदा नेपाली पक्ष किन असफल देखिन्छ ?
एक सीमाविद् भन्छन्, “यदि नेपाली पक्षले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने हो भने अधिकांश तस्करी सीमामै रोकिन्थ्यो। भारतमा मात्र बरामद हुनु भनेको नेपाली प्रणालीको असफलता हो।”
बलिनगरमा बिओपी स्थापना गर्नुको मूल उद्देश्य नै तस्करी नियन्त्रण भए पनि अहिलेको अवस्थाले त्यसको औचित्यमाथि गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयको भनाइ छ, “बिओपी नहुँदा पनि तस्करी हुन्थ्यो, बिओपी हुँदा पनि उस्तै छ। फरक यत्ति हो-अहिले तस्करहरू झनै ढुक्क छन्।”
तस्करी नियन्त्रण नहुनुको कारण सशस्त्र प्रहरी र तस्करबीचको मिलेमतो हो कि राजनीतिक दबाब, प्रशासनिक लापरबाही वा सीमामा आधुनिक निगरानी प्रविधिको अभाव-यी सबै विषयमा गहिरो छानबिन आवश्यक देखिन्छ।
सबैभन्दा गम्भीर पक्ष के छ भने यति ठूलो घटनापछि पनि सम्बन्धित निकायहरू मौन छन्। न सशस्त्र प्रहरी मुख्यालयको स्पष्ट धारणा आएको छ, न गृह प्रशासनको। यो मौनताले ‘सबै कुरा थाहा हुँदाहुँदै पनि बेवास्ता गरिएको हो कि ?’ भन्ने आशंका झनै बलियो बनाएको छ।
स्थानीय बासिन्दाहरू चेतावनी दिन्छन्, “यदि समयमै छानबिन र कडा कारबाही भएन भने बलिनगर नाका तस्करीको स्थायी सेफ जोन बन्छ। यसको असर सीमावर्ती क्षेत्रमै सीमित नरही समग्र देशमै पर्छ।
बलिनगर नाका अहिले केवल एउटा सीमावर्ती बिन्दु मात्र होइन, राज्यको सुरक्षा, सुशासन र इच्छाशक्तिको परीक्षा स्थल बनेको छ। तस्करी नियन्त्रणका लागि खोलिएको बिओपी नै प्रश्नको घेरामा पर्नु सामान्य विषय होइन। अब प्रश्न केवल तस्करीको होइन-राज्य साँच्चै गम्भीर छ कि छैन ?

















