२०८३ बैशाख १६ गते, बुधबार ०५:०६

हिन्दू परिषद नेपालद्वारा माईस्थानमा सवा लाख दीप प्रज्वलन

वीरगंज । हिन्दु परिषद् नेपालको आयोजनामा वीरगंजको प्रसिद्ध गहवामाई माईस्थान मन्दिर प्राङ्गणमा लगातार तेस्रो वर्ष दीप प्रज्वलन गरिएको छ ।

अयोध्यास्थित श्रीराम जन्मभूमि मन्दिरमा भगवान् श्रीरामललाको प्राणप्रतिष्ठाको तेस्रो वार्षिकोत्सव तथा प्रतिष्ठा द्वादशीको अवसर पारेर हिन्दू परिषद नेपालले बुधबार दीप प्रज्वलन तथा हनुमान अराधनाको आयोजना गरेको केन्द्रिय अध्यक्ष संजय सर्राफले बताउनु भयो।

धार्मिक तथा सांस्कृतिक आस्थालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

अध्यक्ष सर्राफका अनुसार भगवान् श्रीरामप्रति श्रद्धा अभिव्यक्त गर्नुका साथै सनातन धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दीप प्रज्वलन गरिएको हो । पर्सा जिल्लासहित छिमेकी राष्ट्र भारतबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति थियो ।

सवा लाख दीपको प्रकाशले मन्दिर परिसर झिलिमिली बनेको थियो भने सम्पूर्ण वातावरण भक्तिमय र धार्मिक भावनाले ओतप्रोत भएको थियो ।

हिन्दू परिषद नेपालले कार्यक्रममार्फत धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको थियो। कार्यक्रमलाई भव्य, सभ्य र अनुशासित रूपमा सम्पन्न गर्न हिन्दू परिषद नेपालको केन्द्रिय, जिल्ला र महानगर कार्यसमिति लगायत स्थानीयवासी, स्वयंसेवक तथा विभिन्न धार्मिक संघसंस्थाहरूको सक्रिय सहयोग रहेको जनाइएको छ ।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तथा पूर्व प्रतिनिधिसभा सदस्य विणा जयसवाल कुर्मीले पहिलो दीप प्रज्वलन गरेर गरेकी थिइन् । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा सांसद पदको उम्मेदवार समेत रहेकी कुर्मीले दीप प्रज्वलन गर्दै भगवान् श्रीरामको जयजयकार गरेकी थिइन् । त्यसपछि उनले सनातन धर्म र भगवान् श्रीरामले मानव सभ्यतालाई सिकाएका पाठहरूको बारेमा चर्चा गरिन् ।

उनले निर्वाचनपछि आफ्नो पहिलो प्राथमिकता नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउनु रहेको बताइन् । साथै, श्री गहवामाई मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विभिन्न योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल हिन्दु परम्परा र संस्कृतिको देश भएको उल्लेख गर्दै उनले हिन्दु राष्ट्र कायम गराउने आफ्नो प्रमुख लक्ष्यलाई दोहोर्‍याइन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM