बीरगञ्ज । सामुदायिक सेवा केन्द्र मीना बजार तथा सामुदायिक प्रहरी सेवा केन्द्र मीना बजारको संयुक्त आयोजनामा बीरगञ्जस्थित ऐतिहासिक तथा धार्मिक गहवा माई मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

स्थानीय समुदायमा स्वच्छता अभिवृद्धि तथा धार्मिक सम्पदाको संरक्षणलाई उद्देश्य बनाइ आयोजित कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र मीना बजारका अध्यक्ष बासुदेव सहनी, उपाध्यक्ष प्रवेश सर्राफ, केन्द्र मीना बजारकी प्रमुख प्रहरी हवलदार संध्या गुरौको सक्रिय सहभागिता रहेको थियो। साथै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेडक्वाटर पर्साका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा हिन्दूवादी नेतृ रमितामाया गुप्तासहित स्थानीय समाजसेवी तथा स्वयंसेवकहरूको सहभागितामा मन्दिर प्रांगणभित्र तथा आसपासको क्षेत्र सरसफाई गरिएको हो। सहभागीहरूले धार्मिक स्थलको स्वच्छता संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
सामुदायिक सेवा केन्द्र र प्रहरीको सहकार्यमा गरिएको उक्त सरसफाई कार्यक्रमले समुदाय-प्रहरी साझेदारीलाई थप मजबुत बनाउनुका साथै धार्मिक एवं सार्वजनिक स्थलप्रति जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
















