वीरगंज/सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय तथा नं. २ छिन्नमस्ता बाहिनीको निर्देशनअनुसार अभियान सञ्चालन गर्दै आएको सशस्त्र प्रहरी बल पर्साले मिति २०८२ साल पौष १२ गते विशेष चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका-५ मनिहर्वा चोकमा सुरक्षा बेस पोखरीयाबाट स.प्र.ना.उ. शम्भु कटुवालको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा लागुऔषध गाँजा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।
जाँचका क्रममा पर्सा पकाहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने करिब ४३ वर्षीय रविन्द्र महतो सवार BR22U 1178 नम्बरको मोटरसाइकलको डिक्कीबाट करिब ५ केजी गाँजा बरामद गरिएको थियो। त्यस्तै भारत, बेतिया जिल्ला बेहरा झुम्का–१४ का करिब ३७ वर्षीय अशोक महतो सवार BR22A 5302 नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइराखिएको करिब ४ केजी ३०० ग्राम गाँजा फेला परेको थियो।
बरामद गरिएको कुल ९ केजी ३०० ग्राम गाँजा, दुवै मोटरसाइकल, दुई थान मोबाइल फोन र भारतीय रुपैयाँ १ हजार ४ सय ५० सहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
















