२०८३ बैशाख २३ गते, बुधबार १०:२९

आँखामा लेन्स र तासमा चिप्स जडान गरेर क्यासिनो इभेन्टको नाममा ठगी धन्दा

काठमाडौँ । काठमाडौँको ठमेलस्थित अलफ्ट होटल परिसरमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिमा ‘क्यासिनो इभेन्ट’ को नाममा जुवा खेलाएर एउटा भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको भेटिएको छ ।ठगी धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले मङ्सिर २६ मा महाकाय समूहका मुख्य व्यक्ति ५७ वर्षीय सुरेश महाजनसहित ६ जनालाई पक्राउ गरेको थियो । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू सुरेश महाजन, ३९ वर्षीय प्रमोद मोरिया, ३१ वर्षीय बिक्रम सिंह, ३७ वर्षीय दिनेश वर्मा, नेपाली नागरिकहरू ४० वर्षीया भवानी पाण्डे र सुनसरी घर भएकी ३६ वर्षीया चिजा खड्का छन् ।

 

उनीहरुले जुवा खेल्दा तासमा चिप्स र आँखामा लेन्स प्रयोग गरेर अन्य खेलाडीहरूलाई हराएर ठग्ने गरेको आरोप छ । आरोपीहरूले प्रयोग गर्ने तासमा पहिले नै चिप्स जडान गर्ने र त्यसको कनेक्सन आँखामा प्रयोग गरिने लेन्ससँग जोडेर जुवा जित्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार आँखामा लेन्स प्रयोग गरेकाहरूले पहिले नै तास चिन्छन्, हारजितबारे थाहा पाउँछन् । त्यसबारे थाहा नभएका खेलाडीहरूलाई हराएर उनीहरुले करोडौं जित्ने गरेको एसपी भट्टराईले बताए ।

भारतको महाकाय समूहले ठमेलस्थित वाल्डो क्यासिनोमा मङ्सिर २५ देखी २८ सम्म इभेन्ट गर्न भनेर करिब २ सय खेलाडीलाई ल्याएका थिए । क्यासिनोमा जुवा खेल्नेमा नेपालका जनार्दन उप्रेती पनि संलग्न थिए । जनार्दन उप्रेती नेपालस्थित बिपी समूहका सञ्चालक हुन् ।महाकाय समूहसँग मिलेर इभेन्ट आयोजना गर्दा उप्रेती नेपालको तर्फबाट मुख्य आयोजक रहेको अनुसन्धानबाट थाहा भएको एसपी पवन भट्टराईले जानकारी दिए । उप्रेतीले क्यासिनोमा टिकट बुकिङ र व्यवस्थापनको काम गरेको भेटिएको छ ।

भारतबाटै आएका नेपाली महिलाद्ववय पाण्डे र खड्काचाहिँ क्यासिनोमा तास वितरण गर्ने कर्मचारी ‘डिलर’ हुन् । तास बाँड्ने र इभेन्ट सञ्चालकले परिचालन गरेको ‘डमी खेलाडी’को बिचमा पनि तास वितरण गर्दा प्राविधिक रूपमा ‘कनेक्सन’ हुने अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीहरूले भारत, नेपाल, श्रीलङ्का, भियतनाम र कम्बोडियामा इभेन्ट सञ्चालनको नाममा यसरी ननै ठग्ने गरेको खुलेको छ । महाकाय समूहले यसअघि बौद्धस्थित प्राइड क्यासिनोमा इभेन्ट सञ्चालन गर्दै आएको थियो ।

भारतमा पैसा भएका र जुवाको लत बसेकाहरूलाई छनोट गरेर उनीहरुले इभेन्टको नाममा नेपाल ल्याउँछन् । अनि आफ्नो टिमका डमी खेलाडीलाई आँखामा लेन्स फिट गरेर खेल्न लगाउने र जुवाडेहरूबाट रकम जितेर योजनाबद्ध ठगी धन्दा चलाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । डमी खेलाडीहरूले जितेको रकमको १० प्रतिशत पाउँछन् ।

महाजन र सेठ्ठीबिच ‘कनेक्सन’

बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित प्राइड क्यासिनोमा टेबल चलाउने दावा शेर्पा उर्फ सेठ्ठी अहिले काठमाडौँ प्रहरीको हिरासतमा छन् । जेनजी प्रदर्शनमा प्राइड क्यासिनो लुटेको आरोपमा मङ्सिर १२ मा सेठ्ठी र रञ्जित खड्गी उर्फ रणे पक्राउ परेका थिए ।

गुण्डागर्दी पृष्ठभूमिका सेठ्ठी र भारतीय महाकाय समूहका प्रमुख सुरेश महाजनको बिचमा कनेक्सन देखिएको छ । उनीहरूको बिचमा ‘कनेक्सन’ देखिएको एसपी भट्टराईले बताए ।

महाजनले पशुपति दर्शन, साइड सिन र निःशुल्क होटल सुविधा दिने ‘प्याकेज’ सहित खेलाडीहरूलाई काठमाडौँ ल्याउँथे । आँखामा लेन्स प्रयोग गर्ने आफ्ना डमी खेलाडीहरूलाई उनीहरुले अलफ्ट होटलमा राखेको भेटिएको छ ।

इभेन्ट सञ्चालन गर्न उनीहरुले भारतबाटै चिप्स जडान गरिएको ५० प्याकेट तास र ४ सेट लेन्स ल्याएको एसपी भट्टराईले जानकारी दिए ।

जुवाडे राख्न उनीहरुले अलफ्ट, र्याडिसन र मेरियट होटलमा ११० वटा कोठा बुक गरेको भेटिएको छ । आरोपीहरु विरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM