
– धर्मानन्द जोशी
दृश्यको दृष्टिकोण फरक-फरक हुन्छ। त्यसैले विचार पनि सबैका फरक हुन्छन्। तर आजको नेपाली राजनीतिमा देखिएको साझा यथार्थ के हो भने राजनीति अब विचारको प्रणालीभन्दा बढी लगानी र नाफाको व्यवस्थापन प्रणाली बन्दै गएको छ।
प्रत्येक राजनीतिक दलसँग एउटा विस्तृत व्यवस्थापन संरचना हुन्छ, जसले पार्टीको विचारधारा र कथालाई जनतासम्म पुर्याउने काम गर्छ। बाहिर हेर्दा विचारधारा नै सबैथोक जस्तो देखिन्छ, तर व्यवहारमा त्यो सत्तामा पुग्ने माध्यम मात्र बनेको छ। आजको राजनीतिमा नेता गाउँ होस् वा शहर-उत्पादन जस्तै भएका छन्। यदि कुनै नेता वा कार्यकर्ताले पार्टीको ‘व्यापार मोडेल’लाई क्षति पुर्यायो भने, उसलाई या त पार्टीबाट निकालिन्छ, या उसले आफैं पार्टी छोड्नुपर्छ। यसले प्रस्ट देखाउँछ-राजनीति अब विचार होइन, नाफाको खेल हो।
यो मानसिकता शहरमा मात्र सीमित छैन। गाउँ-गाउँसम्म फैलिएको छ। पछिल्ला केही वर्षमा बारम्बार देखिएको एउटा उदाहरण पर्याप्त छ-एउटै गाउँबाट एउटै पार्टीका दुई जना लोकप्रिय उम्मेदवार चुनाव लड्न तयार हुन्छन्, तर अन्ततः टिकट पाउँछ तेस्रो, अपरिचित व्यक्ति। यो अदृश्य राजनीति होइन भने के हो? जब एउटै पार्टीभित्रका दुई जनाको जनसमर्थन बलियो छ भने, उनीहरूलाई प्रतिस्पर्धामा उतार्नुको सट्टा तेस्रो व्यक्तिलाई अगाडि सार्नु भनेको जनताको आँखामा धुलो छर्कनु जस्तै हो। अन्ततः, त्यो तेस्रो उम्मेदवार चुनाव जित्छ। यस प्रक्रियामा विचार होइन, लेनदेन र व्यवस्थापन निर्णायक बन्छ।
म अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्य भएको छैन, र सायद भविष्यमा पनि सजिलै हुने छैन। हो, यदि कहिल्यै शुद्ध, पारदर्शी र स्वच्छ राजनीति सम्भव भयो भने, म त्यसमा सामेल हुन चाहन्छु। तर दलगत समर्थन नै जीवनको उद्देश्य बन्नु हुँदैन। कुनै पनि दल त्यतिबेला मात्र समर्थनयोग्य हुन्छ, जब उसका उद्देश्य, विधि र सिद्धान्त समाजको हितमा, पूर्वाग्रहबिना लागू हुन्छन्। अन्यथा, पार्टीभित्र तपाईंलाई साँचो नेता होइन, दास र चापलूस का रूपमा हेरिन्छ। तपाईं सहयोगी होइन, नेताको कुर्कुच्चामा दौडने पात्र बन्नुहुन्छ, जहाँ सही र गलत छुट्याउने विवेक हराउँदै जान्छ, तर वफादारी अन्धो बन्छ।
नेता जनताको बहुमतबाट निर्वाचित हुन्छन्। जनताले उनीहरूलाई जिम्मेवारी सुम्पन्छन्। त्यसैले एउटा सत्य स्पष्ट हुनुपर्छ-जतिसुकै महान नेता भए पनि, उसले जनताको लागि काम गर्नुपर्छ, गाउँको विकासका लागि सरकारसँग झुक्नुपर्छ। तर जनता नेताको अगाडि झुक्नु पर्दैन। दुर्भाग्यवश, गाउँ-गाउँमा यसको ठीक उल्टो दृश्य देखिन्छ। सानो सरकारी कामका लागि पनि मानिसहरू महिनौँसम्म नेताको कार्यालय धाउन बाध्य छन्, कहिले नेता कार्यालयमै हुँदैनन्, कहिले पार्टी बैठक, कहिले तीर्थयात्रा, कहिले व्यक्तिगत व्यस्तता।
जब कसैले साँच्चै गाउँको उन्नति र जनताको सुखका लागि काम गर्छ, त्यस्ता व्यक्तिलाई सम्मान र प्रोत्साहन दिनु अनिवार्य हुन्छ। तर आजको वास्तविकता के हो भने, राजनीति स्वयं एक व्यवसाय जस्तै बनेको छ। नाफाको उद्देश्य व्यवसायमा स्वाभाविक हुन्छ, तर जब यही उद्देश्य राजनीतिमा हाबी हुन्छ, तब जनता केवल उपभोग्य साधन मा सीमित हुन्छन्।
राजनीतिक दलहरूका लागि जनता प्राथमिकता जस्तो देखिए पनि, व्यवहारमा जनताको समस्या समाधानभन्दा आश्वासन वितरण नै मुख्य रणनीति बनेको छ। चुनावदेखि सत्ता सञ्चालनसम्म पूँजी लगानी गर्ने पूँजीपतिहरू निर्णायक भूमिकामा हुन्छन्, र सामान्य जनता यस संरचनाको शिकार बन्छन्। दलहरूलाई यस्ता नेताहरू चाहिन्छ, जसका अनुयायी अन्धा हुन्छन् र शुभचिन्तक पूँजीपति हुन्छन् जो व्यापार, घोटाला र अनियमितता ढाकछोप गर्न सक्षम हुन्छन्। यही कारण जनमुखी राजनीति क्रमशः सीमान्तकृत हुँदै गएको छ।
मानिसहरूले जसले केही फाइदा पुर्यायो, उसलाई आँखा चिम्लेर विश्वास गर्न थाल्छन्। तपाईं जनताको लागि काम गर्नुहुन्छ भने, जनताले तपाईंलाई आकाशमा पुर्याउँछन्। तर जब तपाईं राजनीतिक प्रतिस्पर्धामा उत्रिनुहुन्छ, तपाईंका अगाडि भ्रष्टाचारका आरोप, चरित्रहत्या र अविश्वासको पर्खाल खडा गरिन्छ। सरकारमा पुगेपछि धेरै नेता आम जनतालाई बिर्सन्छन् र आफ्नै स्वार्थमा डुब्छन्। त्यसपछि, उनीहरूले जतिसुकै आफूलाई प्रमाणित गर्न खोजे पनि, सत्यको आवरण फाट्न थाल्छ। राम्रा देखिने सबै मानिसहरू सत्यवादी हुँदैनन्।
आज देश यस्तो अवस्थामा पुगेको छ जहाँ जनताको दैनिकी नै संघर्ष बनिसकेको छ। अर्थतन्त्र नाजुक छ, युवाशक्ति विदेश पलायन भएको छ, र भविष्यप्रतिको विश्वास कमजोर हुँदै गएको छ। तर यही समयमा नेताहरू सत्तामा पुग्न ठूला-ठूला भाषण दिन व्यस्त छन्। परिवर्तन प्रकृतिको नियम हो, तर जब देशका सबै शक्ति-आर्थिक, सामाजिक र नैतिक-कमजोर हुँदै जान्छन्, तब परिवर्तन विनाशतर्फ मोडिन सक्छ।
यदि हामीले आँखा चिम्लेर कसैलाई महान् ठानेर पछ्यायौं भने, एक दिन अवश्य पनि धोका पाउनेछौं। संसारमा पूर्ण सद्गुणी मानिस नहुन सक्छन्, तर सत्यवादी मानिस अवश्य हुन्छन्। समस्या के हो भने, आज सबै नेताहरू आरोपको घेराभित्र छन्। यस्तो अवस्थामा प्रश्न उठ्छ- हामी कसलाई, कसरी विश्वास गर्ने?
सत्य आज होइन, केही समयपछि अवश्य उजागर हुन्छ। तर सत्य लुकाएर, जनतालाई नकाबमा राखेर गरिएको राजनीति कुनै पनि अर्थमा धर्म होइन। राजनीति विचारको हत्या होइन, विचारको परीक्षा हो। यदि हामीले प्रश्न गर्न छोड्यौं भने, नेता बदलिँदैनन् केवल मालिक फेरिन्छन्।
















