२०८३ बैशाख १६ गते, बुधबार १४:१२

राप्रपाले काठमाडौं-१ मा पशुपतिशमशेर राणालाई सिफारिस गरेको पुष्टि, रवीन्द्र मिश्रको नाम अफवाह मात्र

काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पशुपतिशमशेर राणासहित चार जना तथा समानुपातिकतर्फ प्रा. डा. जयन्तनाथ खनालसहित छ जनाको नाम सिफारिस गरेको पुष्टि भएको छ।

काठमाडौं क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले गत हप्ता नै उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको र उक्त निर्णय क्षेत्रीय समितिका अध्यक्ष रामेश्वर श्रेष्ठको हस्ताक्षरसहितको माइन्युट पार्टी सचिवालयमा दर्ता भइसकेको क्षेत्रीय समिति सदस्य विनोद दवाडीले जानकारी दिए।

उनका अनुसार क्षेत्रीय समितिले रवीन्द्र मिश्रको नाम सिफारिस नगरेपछि त्यसलाई ढाकछोप गर्न मिश्र पक्षबाट सामाजिक सञ्जालमा भ्रम फैलाउने प्रयास भइरहेको छ। “क्षेत्रीय समितिको औपचारिक निर्णयबाहेक बाहिरबाट मान्छे बोलाएर, कापी किनेर अरू कसैलाई आफ्नो नाम लेख्न लगाई ‘सिफारिस’ भएको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको छ,” दवाडीले आरोप लगाए।

क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठले त्यस्तो कार्यमा सहमति नजनाएपछि गैरजिम्मेवार ढंगले भ्रम सिर्जना गरिएको उनको भनाइ छ।

यस घटनाप्रति काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गतका राप्रपाका कार्यकर्ता, क्षेत्रीय तथा सबै वडा समितिका सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले पार्टी निर्णयविपरीत गरिएका गतिविधिको प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन्।

दवाडीका अनुसार यस विषयमा थप छलफल र निर्णयका लागि काठमाडौं-१ का सबै सक्रिय सदस्यहरूको सहभागितामा छिट्टै वृहत् भेला आयोजना गर्ने तयारी भइरहेको छ।

काठमाडौं-१ बाट प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि सिफारिस गरिएका उम्मेदवारहरूको आधिकारिक माइन्युट यसैसाथ संलग्न गरिएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM