काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार ५० वर्षीय तामाङ, जो ‘विश्वक्रान्ति’, ‘कुमार’ र ‘देवराज लामा’ नामले समेत चिनिन्छन्, मंगलबार काठमाडौँको कपन क्षेत्रबाट पक्राउ परेका हुन्। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले पक्राउको पुष्टि गर्दै पाँचथरमा दर्ता विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनी फरार रहेको पाइएको जानकारी दिए।
तामाङ यसअघि २०६८ सालमा काठमाडौँको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा कारागार सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको थियो। घटनापछि फरार रहेका उनलाई प्रहरीले अनुसन्धान गरी अभियोजन गरेको थियो।
प्रहरीका अनुसार २०६९ साल असारमा पाँचथरको भुसपातेबाट तामाङलाई विस्फोटक पदार्थसहित पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। बबरमहल घटनामा कैद सजायको फैसला भएपछि उनले नख्खु कारागारमा सजाय भुक्तान गरेका थिए। उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रिहा भएका थिए।
सीआईबीका अनुसार तामाङविरुद्ध पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दा हाल पनि विचाराधीन अवस्थामा रहेको पाइएको छ। थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई पाँचथर पठाइएको प्रहरीले जनाएको छ।
















