वीरगंज । पर्सा प्रहरीले गाँजासहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
वीरगंज-१७ कोनिया क्षेत्रमा प्रहरीले १७६ केजी परिमाणमा लागू औषध गाँजा बरामद गरेको प्रेस मिट ग़री सार्वजनिक गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ८ बजे कोनियास्थित सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्राभेल सडकखण्डमा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा गाडीको पछाडिपट्टि प्लास्टिकका बोरामा परालले छोपी लुकाइछिपाइ राखिएको अवस्थामा १२ पोकामा रहेको १७६ केजी लागू औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त गाडीका चालक रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका-१ निवासी २८ वर्षीय सुबराज श्रेष्ठलाई बरामद लागू औषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद गरिएको लागू औषध, पिकअप गाडी र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।










