२०८३ बैशाख १६ गते, बुधबार १८:३७

बाबा बैजूनाथ सुगर उद्योग एक हप्ताभित्र सञ्चालनमा, उखु क्रसिङको तयारी अन्तिम चरणमा

रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका–८, डुमरियामा रहेको बाबा बैजूनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज आगामी उखु क्रसिङ सिजनका लागि औपचारिक सञ्चालनको तयारीमा जुटेको छ । उद्योग आगामी करिब एक हप्ताभित्र सञ्चालनमा आउने तयारीमा रहेको छ ।

उखु क्रसिङ सुरु गर्नुअघि उद्योग परिसरमा परम्परागत विधिअनुसार डोंगाको पूजा सम्पन्न गरिएको छ । उद्योगपति बैजू प्रसाद बाबराले पूजाआजा गर्दै यस वर्षको उखु क्रसिङ सिजनको शुभारम्भको संकेत दिएको जानकारी दिए । उनका अनुसार पूजापाठ सम्पन्न भएसँगै उद्योग सञ्चालनका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ र आगामी १० दिनभित्र मिल पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने योजना रहेको छ ।

यस सिजनमा उद्योगले १८ लाखदेखि २० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष उद्योगले करिब पौने १३ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो । यसअघि दैनिक २० हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेको उद्योगले यस वर्ष क्षमतामा वृद्धि गर्दै २५ हजार क्विन्टल पुर्‍याएको उद्योगपति बाबराले जानकारी दिए ।

उद्योग स्थापना हुनुअघि रौतहट जिल्लामा जम्मा करिब तीन लाख क्विन्टल मात्र उखु उत्पादन हुने गरेको थियो । तर उद्योग सञ्चालनमा आएपछि किसानहरू उखु खेतीतर्फ आकर्षित हुँदै गएका कारण उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । उद्योगका अनुसार गत वर्ष जिल्लामा करिब १३ लाख क्विन्टल उखु उत्पादन भएको थियो ।

सुरुआती चरणमा सीमित मात्रामा उखु क्रसिङ गर्दै सञ्चालनमा आएको उद्योगले समयक्रमसँगै आफ्नो उत्पादन क्षमता विस्तार गर्दै आएको छ । चालु सिजनमा मात्रै जिल्लाभर १४ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ हुने अनुमान गरिएको छ ।

उखु उत्पादन थप बढाउने उद्देश्यले उद्योगले यस वर्ष किसानहरूलाई नयाँ प्रजातिका उखुको बीउसमेत उपलब्ध गराएको छ । नयाँ प्रजातिको बीउ प्रयोग गर्दा प्रति कठ्ठा ३० देखि ५० क्विन्टलसम्म उखु उत्पादन हुन सक्ने अपेक्षा गरिएको उद्योगले जनाएको छ ।

किसानलाई उखु खेतीतर्फ प्रोत्साहन गर्न उद्योगले बीउ वितरणसँगै प्राविधिक परामर्श र आवश्यक सहयोगसमेत गर्दै आएको छ । यसकै प्रभावस्वरूप जिल्लामा उखु खेतीको क्षेत्रफल र किसानहरूको सहभागिता दुवै बढ्दै गएको बताइएको छ ।

उद्योगले किसानबाट खरिद गरिएको उखुको १५ दिनभित्र भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । समयमै उखु बिक्री र भुक्तानी सुनिश्चित भएकाले उखु खेतीप्रति किसानहरूको भरोसा बढेको र हरेक वर्ष किसानको संख्या उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको स्थानीय किसानहरूले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM