राजनीतिक दलको दीर्घायु, विश्वसनीयता र संगठनात्मक सुदृढता नेतृत्व पुस्तान्तरणसँग प्रत्यक्ष रूपमा गाँसिएको विषय हो। यही यथार्थलाई आत्मसात् गर्दै विश्वकै सबैभन्दा ठूलो राजनीतिक दलमध्ये एक, भारतीय जनता पार्टी (BJP) ले ४५ वर्षे युवा नेता नितिन नवीनलाई राष्ट्रिय कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिनु केवल संगठनात्मक निर्णय मात्र होइन, दूरदर्शी राजनीतिक संस्कृतिको स्पष्ट सन्देश पनि हो।
अरबौं जनसंख्या भएको देशमा करोडौं सक्रिय कार्यकर्तालाई संगठित गर्दै आएको दलले नेतृत्वमा युवालाई अगाडि सार्नु साहसिक र दूरगामी सोचको परिचायक हो। यसले पार्टीभित्र अनुभव र ऊर्जाबीच सन्तुलन सम्भव छ भन्ने प्रमाणित गरेको छ। परम्परा, विचार र अनुशासनलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनु नै संस्थागत राजनीतिकाे सार हो।
यस परिप्रेक्ष्यमा नेपाली राजनीतिक दलहरू गम्भीर आत्मसमीक्षाको चरणमा प्रवेश गर्नुपर्ने देखिन्छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत प्रमुख दलहरूमा दशकौँदेखि एउटै अनुहार वरिपरि राजनीति घुमिरहेको यथार्थ लुकेको छैन। नेतृत्व परिवर्तनलाई ‘खतरा’का रूपमा बुझ्ने प्रवृत्तिले दलहरू क्रमशः जड, असमावेशी र जनभावनाबाट टाढा हुँदै गइरहेका छन्।
इतिहास साक्षी छ-समयअनुसार आफूलाई रूपान्तरण गर्न नसक्ने राजनीतिक शक्तिहरू स्मृतिमा मात्र सीमित हुन्छन्। भारतीय राष्ट्रिय कांग्रेस (INC) को वर्तमान अवस्था त्यसको ज्वलन्त उदाहरण हो। नेपालमै फर्केर हेर्दा, प्रजापरिषद् जस्तो ऐतिहासिक दल नेतृत्व र संगठन सुदृढ गर्न नसक्दा केवल इतिहासको पानामा सीमित हुन पुगेको तथ्य स्मरणीय छ।
लोकतन्त्र केवल चुनाव जित्ने अभ्यास होइन, यो पुस्तान्तरणको संस्कार पनि हो। युवा पुस्तालाई निर्णय तहमा सहभागी नगरुन्जेल राजनीति जीवन्त हुन सक्दैन। आजको प्रविधि, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धको जटिल यथार्थ बुझ्ने क्षमता नयाँ पुस्तासँग छ, तर उनीहरूलाई नेतृत्वमा पुग्ने बाटो बन्द गरिँदा पार्टी र देश दुवै घाटामा पर्छन्।
नितिन नवीनको नियुक्ति कुनै व्यक्ति विशेषको प्रशंसा मात्र होइन, प्रणालीगत राजनीतिक परिपक्वताको उदाहरण हो। यही कारणले यो निर्णय नेपाली दलहरूका लागि दरिलो पाठ बन्नुपर्छ। नेतृत्वलाई जीवनपर्यन्त पद ठान्ने सोच त्यागेर, समयमै जिम्मेवारी हस्तान्तरण गर्न सक्नु नै राजनीतिक परिपक्वता हो।
अन्ततः, परिवर्तनलाई अंगाल्ने दल मात्र भविष्यमा टिक्छन्। नेतृत्व पुस्तान्तरण विलासिता होइन, लोकतान्त्रिक अनिवार्यता हो। यदि नेपाली दलहरूले समयमै यो यथार्थ स्वीकारेनन् भने, इतिहासले उनीहरूलाई क्षमाशील हुने छैन।
नव नियुक्त राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नवीनज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। उहाँको नियुक्तिले दक्षिण एसियाली राजनीतिमा नेतृत्व विकासको नयाँ बहस प्रारम्भ हुने अपेक्षा छ। अस्तु।
















