वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध तरकारी तथा फलफूल व्यवसायीहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन्।
महानगरले घण्टाघरस्थित बीपी उद्यानको जग्गामा सञ्चालन हुँदै आएका अस्थायी टहराहरू एकाबिहानै डोजर लगाएर भत्काएपछि प्रभावित व्यवसायीहरूले “मेयर राजेशमान मुर्दाबाद” भन्दै जुलुस र प्रदर्शन गरेका हुन्।
स्थानीय व्यवसायीहरूका अनुसार उनीहरू लामो समयदेखि सो क्षेत्रमा अस्थायी टहरा बनाएर तरकारी, फलफूल तथा माछामासुको व्यवसाय गर्दै जीविकोपार्जन गर्दै आएका थिए। वैकल्पिक व्यवस्था, पूर्वसूचना वा संवादबिनै महानगरले अचानक डोजर चलाउँदा सयौँ परिवारको दैनिकी एकाएक संकटमा परेको उनीहरूको गुनासो छ।
डोजर लगाएर भत्काएइएपछि आन्दोलित बनेका व्यवसायीहरूले महानगर प्रमुख सिंहले पछिल्लो समय गरीखाने वर्गमाथि ‘गुण्डागर्दी शैली’ अपनाउँदै आतंक सिर्जना गरिरहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार समस्या समाधानका नाममा संवाद र सहमतिभन्दा बल प्रयोगलाई प्राथमिकता दिइँदा साना व्यवसायी प्रत्यक्ष मारमा परेका छन्।
यसअघि पनि मेयर सिंहको निर्देशनमा नगर प्रहरीद्वारा लाल बंगला क्षेत्रमा प्रदर्शनीमा राखिएका मोटरसाइकल व्यवसायीमाथि कुटपिट तथा गालीगलौज गरिएको आरोप सार्वजनिक भइसकेको छ। त्यस्तै, माईस्थान मन्दिर अगाडि रेलिङ जडान गरी जबरजस्ती सडक संकुचन गर्दा स्थानीय व्यवसाय ठप्प पारिएको भन्दै व्यवसायीहरूले निरन्तर गुनासो गर्दै आएका छन्।
व्यवसायीहरूको आन्दोलनसँगै वीरगंजमा महानगरको विकास र व्यवस्थापन शैलीप्रति गम्भीर प्रश्न उठ्न थालेको छ। नगर विकासको नाममा कमजोर वर्गको रोजीरोटीमाथि प्रहार गर्ने नीति स्वीकार्य नहुने भन्दै आन्दोलनरत पक्षले तत्काल संवाद, क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाको माग गरेका छन्।
















