२०८३ बैशाख १६ गते, बुधबार २१:२९

लोभले लाप, लापले बिलाप : म्यादी मन्त्रीको लोभले गुम्यो प्रदेश सांसद पद

जनकपुरधाम । ‘लोभले लाप, लापले बिलाप’ भन्ने उखानलाई चरितार्थ गर्ने घटना मधेस प्रदेशमा देखिएको छ । म्यादी मन्त्री बन्ने लोभमा परेर पार्टीको निर्देशन र अनुशासनलाई बेवास्ता गरेकी समानुपातिक सांसद कन्चन विच्छाको प्रदेशसभा सदस्य पद गएको छ।
राप्रपा नेपालकी मधेश प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त भएकी छिन् । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको छ ।

उनी पार्टीको मधेश प्रदेशका महिला तर्फ समानुपातिक प्रदेश सभा सदस्य थिइन् । संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि विच्छा पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् ।

अनुशासन उल्लंघन गरेकाले पार्टीको विधान २०४८ (संशोधन सहित) अनुसार ६ महिना साधारण सदस्यबाट निष्कासन गरी विच्छालाई प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने राप्रपा केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेको थियो । उनलाई राप्रपाले तत्काल सरकारबाट बाहिरिन निर्देशन दिए पनि अटेर गरेपछि उनको प्रदेश सभा सदस्य खारेज गर्न प्रदेश सभालाई १२ मंसिरमा पत्राचार समेत गरेको थियो।

प्रदेश सभा सदस्य विच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरेको सूचना सहित आवश्यक कारबाहीका लागि अनुरोध भन्ने पत्र राप्रपाले पठाएको थियो ।

विच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM