सर्लाही/सर्लाही जिल्लामा सशस्त्र प्रहरीको संरक्षणमा खुलेआम तस्करी चलिरहेको छ भन्ने जानकारी सार्वजनिक भएको छ। सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख एसपी देवबहादुर चन्दको नेतृत्वमा स्थानीय प्रहरी, तस्कर र पासिङ एजेन्टहरूको मिलेमतोमा तस्करी सञ्चालन गर्न एक सशक्त नेटवर्कको गठन भएको स्रोतहरूले बताएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. २, छिन्नमस्ता वाहिनी मुख्यालयका बाहिनीपति डीआईजी कृष्ण ढकालको संरक्षणमा भन्सार छल्ने सामाग्रीहरूको ओसारपसार भइरहेको देखिएको छ।
सर्लाही जिल्लामा तस्करी नियन्त्रणका लागि दुईवटा प्रस्तावित गुल्म राखिएका छन्। एक गुल्म पूर्वी नाकाबाट हुने तस्करी नियन्त्रणका लागि मलंगवाको टावरमा राखिएको छ भने अर्को गुल्म पश्चिमी नाकामा फेनहारामा राखिएको छ। यद्यपि, यी गुल्महरूको नजिकबाट नै तस्करीको गतिविधि निरन्तर जारी रहेको छ।
गएको साउन महिनामा रौतहटको गरुडा नगरपालिकामा ८ सय २० बोरा चिनी बरामद गरिएको थियो, जसमा ६८० बोरा गुमाउने घटनामा मुख्य संलग्न व्यक्ति सहायक हवल्दार रोशन मिश्र रहेका थिए। मिश्रले सर्लाहीमा व्यापारिक सेटिङ्ग गरेर तस्करीको सञ्जाल सञ्चालन गरेको आरोप लागेको छ।
सशस्त्र मुख्यालयका अनुगमन अधिकारी डीएसपी सुदीप रेग्मीको संरक्षणमा मिश्रले सर्लाही जिल्लामा तस्करीको गतिविधि चलाइरहेका छन्। एसपी चन्ददेखि डीआईजी ढकाल र नेपाल प्रहरीसम्म मिश्रको संजाल सक्रिय रहेको प्रहरी स्रोतले पुष्टि गरेका छन्।
सर्लाहीका प्रमुख सीमा नाकाहरू जस्तै सखुवबा, फेनहरा, बहादुरपुर, मधुवन गोठ, अर्नाहा र बलराबाट भारततर्फ दैनिक रूपमा कपडा, सुपारी, सूर्ति, खाद्यान्न, किराना, बीउ, मोबाइल, चिनी र मल जस्ता वस्तुहरू तस्करी हुने गरेको छ। यी सामाग्रीहरू स्थानीय गोदामहरूमा संचित गरिन्छ र पछि हेटौंडा र काठमाडौंमा पुऱ्याइन्छ।
तस्करीको यस सञ्जालमा सक्रिय व्यक्तिहरूमा कपडा, किराना र खाद्यान्न तस्करीमा हिरालाल साह, इन्दु सहनी, रामेश्वर साह, करन्जित बैठाव, अमामुल, सुरेश यादव, प्रमोद यादव, बृज यादव, मुकेश शाह र बिनोद शाहजस्ता व्यापारीहरूको नाम उल्लेख गरिएको छ। यस्तै, कुखुरा तस्करीमा दीपक कलवार चौधरी पनि संलग्न छन्।
सर्लाहीका विभिन्न नाकामा खटिएका सशस्त्र प्रहरीका घुमुवा र स्थानीय एजेन्टहरूका बीच समन्वय गरेर तस्करीको कार्य सञ्चालन भइरहेको छ। तस्करीका सामान, रकम संकलन र वितरण सबैको समन्वय रोशन मिश्रकै मार्फत भइरहेको कुरा स्रोतहरूले खुलासा गरेका छन्।
तस्करी नियन्त्रणका प्रयासहरूसँगै यो घटनाले सशस्त्र प्रहरीको उच्चस्तरीय संरक्षण र तस्करीका सञ्जालको गम्भीरताको संकेत दिएको छ।
सशस्त्र प्रहरी सँगै नेपाल प्रहरी पनि शान्ति सुरक्षा कायम गर्नु भन्दा तस्करहरूसँग सांठगाँठमा मस्त रहने गरेको जताततै देख्न पाइने गरिएको स्थानीयहरू बताउँछन्।

















