२०८२ मंसिर ११ गते, बिहीबार १४:१३

बागमती प्रदेशमा रैथाने फुड फेस्टिभल र विविध तालिम कार्यक्रम सञ्चालन गर्ने निर्णय

काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको तेस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँको गौशाला–पिङ्लास्थानस्थित अमरावती बुटिक होटलमा बसेको बैठकले प्रदेशभर रैथाने खाना प्रवर्द्धन तथा व्यवसायीको क्षमता अभिवृद्धिमा केन्द्रित महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले बागमती प्रदेशका सबै १३ जिल्लामा सम्बन्धित जिल्ला संघहरूको आयोजनामा रैथाने फुड फेस्टिभल सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका साथै होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायी तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूको दक्षता बढाउन आतिथ्यता व्यवस्थापन तालिम र डिजिटल क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने निर्णय पनि बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

प्रविधिमैत्री प्रणाली विकासलाई प्राथमिकतामा राख्दै बैठकले प्रत्येक जिल्ला संघले आफ्ना–आफ्नै वेभसाइट निर्माण गर्ने, वेभसाइटमार्फत जिल्लाभित्र रहेका पर्यटकीय, धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाको आन्तरिक-बाह्य प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्ने निष्कर्ष निकाल्यो ।

व्यवसायीका आम समस्याहरू पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने तथा नीतिगत अस्पष्टताका कारण व्यवसायीले भोग्नुपरेका अवरोध हटाउन नीतिगत सुधारका पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

संघको छैटौँ वार्षिक साधारणसभा आगामी पौष २७ गते आयोजना गर्ने निर्णय बैठकले पारीत गरेको छ । बैठकमा सहभागी हुन प्रदेशका अन्य १२ जिल्लाबाट आएका अध्यक्ष, पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले खादा लगाएर स्वागत गरेका थिए । उनले बागमती प्रदेश संघलाई काठमाडौँमा बैठक आयोजना गरेर सबै पाहुनालाई स्वागत गर्ने अवसर प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

बैठक संघका अध्यक्ष दामोदर नेपालको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM