रौतहट । अत्याधुनिक हतियार सहित जेनजी उमेर समूहका एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ देउरालीचाैकमा शनिबार करिब साढे तीन बजेकाे समयमा सशस्त्र प्रहरी बल नेपालकाे इण्टेलिजेन्स ब्युरोकाे विशेष सुचनाकाे आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा., रौतहट बाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी बस्ने वर्ष २२ को सुमन आचार्यलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले हिमालय टाईम्सलाई जानकारी दिनु भएको छ ।
ब्युराेकाे विशेष सुचनाकाे आधारमा सशस्त्र प्रहरी बल,नेपाल सुरक्षा बेश सन्तपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिई गएको १० जनाको टोलिले बाटाे हिडिरहेका आचार्यलाई शंकाकाे आधारमा चेकजाँचका चेकजाँच गर्दा अत्याधुनिक हतियार सहित आचार्य पक्राउ परेकाे सशस्त्र प्रहरी बल,नेपाल नं. ११ गण हे.क्वा., रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले बताउनु भएको छ ।
पक्राउ परेका आचार्यकाे साथबाट मेड इन इटाली लेखिएको बेरेट्टा पेस्तोल १ थान, त्यसमा लाग्ने म्याग्जिन १ थान, ब्राउनिंग पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान, राउण्ड १३ थान र खुकुरी १ थान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
हिमालय टाईम्ससंग कुरा गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले हतियारसहितको गतिविधिले सुरक्षामा असर पार्न सक्ने भएकोले हामीले प्राप्त सूचनाको आधारमा चेकजाँच गरी हतियार सहित युवकलाई नियन्त्रणमा लिएकाे जानकारी दिनुभयाे ।
अत्याधुनिक हतियारसहित पक्राउ परेका आचार्यलाई कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भई रहेकाे सशस्त्र प्रहरीले जनाएको छ।

















