२०८३ बैशाख २४ गते, बिहीबार ०२:०४

चोरीका गरगहना सहित चार जना पक्राउ

वीरगंज/जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेशनमार्फत चोरीका सुन, चाँदीका गरगहना तथा नगदसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू भारतबाट विभिन्न मार्ग हुँदै वीरगञ्ज भित्र्याई लुकाइछिपाई बोक्ने प्रयासमा रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बिहार राज्य बेतिया बक्सर थानाका ३२ वर्षीय विजय राय, बिहार बक्सरकै २६ वर्षीय शेख जुनैद, बिहार मोतिहारीका ३१ वर्षीय विनोद यादव र वीरगंज-२२ का २० वर्षीय विजय कुमार साह रहेका छन्।

प्रहरीका अनुसार २०८२ मंसिर १ गते साँझ वीरगंज-२२ र आसपास क्षेत्रमा चोरीका सामग्री ओसारपसार भइरहेको सूचनापछि गएको प्रहरीटोलीले भारतको बिहार राज्यबाट लुकाइ ल्याइएको गरगहना तथा नगदसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूले प्रारम्भिक सोधपुछमा भारतको विभिन्न स्थानमा चोरी गरिएका सामग्री नेपालमा ल्याएर बिक्री वितरण गर्ने धन्दा गर्दै आएको स्वीकारेका छन्। उनीहरूको साथबाट करिब रु १३ लाख बराबरको सुन–चाँदी, नगद रकम, मोबाइल लगायत विभिन्न वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद वस्तुहरूमा सुनका सिक्री, मुन्द्रा, चाँदीका धागो, सिक्री, कडा लगायतका गरगहना रहेका छन्। ती गरगहना तथा सामग्री जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूलाई चोरी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई थुनामा राखेर थप अनुसन्धान शुरू गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM