काठमाडौँ/पछिल्लो निर्वाचनमा नयाँ राजनीतिक विकल्पको रूपमा उदाउँदै चौथो ठूलो दल बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र हाल भागाभागको माहौल देखिन थालिएको छ। पत्रकारिताबाट कमाएको लोकप्रियतालाई राजनीतिक पूँजीमा रूपान्तरण गर्दै रवि लामिछानेले उभारिएको यो दल अहिले संस्थापकदेखि प्रभावशाली मन्तव्य राख्ने नेतासम्मको निरन्तर राजीनामाले चर्चामा छ।
रवि लामिछाने सहकारी ठगी मुद्दामा जेल परेपछि रास्वपा नेतृत्वविहीन अवस्थामा धकेलिएको मूल्यांकन भइरहेका बेला संस्थापक महामन्त्री डा. मुकुल ढकाल, सचिव सुमना श्रेष्ठ, पूर्व डीआईजी तथा बारा-२ का उम्मेदवार रमेश खरेल, विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक र केन्द्रीय कार्यालय रहेको भवनका घरबेटी भरतमणि देवकोटासमेतले साधारण सदस्यता त्याग्दै पार्टीबाट बाहिरिने घोषणा गरे।
यी व्यक्तिहरू सार्वजनिक रूपमा चिनिने र चर्चित भएकाले पार्टी परित्यागको लहर तीव्र देखिएको मात्र हो, रास्वपाभित्रै कार्यकर्ता तहमा पनि असन्तुष्ट र बाहिरिनेहरूको संख्या कम छैन। मुकुल ढकाल, सुमना श्रेष्ठ र रमेश खरेलले लामिछानेको नेतृत्व शैलीदेखि निर्णय प्रक्रियासम्म गम्भीर प्रश्न उठाउँदै आरोपहरूको लामो सूची सार्वजनिक गरेका छन्, जसले पार्टीभित्रको आन्तरिक खटपटलाई खुलस्त पारेको छ।
त्यसैबेला, कुनै असन्तोष सार्वजनिक नगरी शान्त तरिकाले पार्टी छाडेका सन्तोष परियारको कदमले समेत शीर्ष नेतादेखि कार्यकर्तासम्मलाई आश्चर्यचकित बनाएको छ।
रवि लामिछाने जेल परेसँगै मार्गदर्शन र नेतृत्व अभावमा रास्वपा कमजोर बन्दै गएको, त्यसकै प्रभावस्वरूप सामूहिक राजीनामाको वातावरण बनेको विश्लेषण राजनीतिक वृत्तमा गरिँदैछ। एउटा समय ‘नयाँ सम्भावनाको दल’ भनी हेरिएको रास्वपा अहिले आफ्नै संरचनागत अस्थिरता र आन्तरिक अविश्वासका कारण भागदौडले ग्रसित भएको तस्वीर देखिन्छ।
















