बाँके, ढकेरी/अमेरिका जाने सपनाले उत्साहित बाँके ढकेरीका ३४ वर्षीय भुपेन्द्र ओलीले दुईपटक विदेश पुग्ने प्रयास असफल भएपछि अन्ततः निराश जीवन चुनेका छन्।
परिवारका अनुसार ओलीले अमेरिका पठाउने भन्दै स्थानीय महिला एजेन्टलाई करिब ८० लाख रुपैयाँ बुझाएका थिए। पहिलोपटक दिल्ली हुँदै र दोस्रोपटक स्पेनबाट अमेरिका लैजाने प्रयास असफल भएपछि उनी नेपाल फर्किएका थिए।
घर फर्किएपछि आर्थिक र मानसिक दवावमा रहेका ओलीले पैसा फिर्ता माग्दा सो महिला एजेन्टले उल्टै बलात्कारको आरोप लगाउने धम्की दिएको कुरा परिवारले जनाएको छ।
यही घटनाले मानसिक रूपमा आहत बनेका ओलीले अन्ततः आफ्नै घरको गोठमा पासो लगाई आत्महत्या गरेका हुन्।
ओलीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। परिवारले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
स्थानीय प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
















